बारा । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले पार्टीको आधिकारिक निर्णयअनुसार हुने वडा अधिवेशनमा सहभागी हुन जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शुक्रबार कलैयास्थित बीपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा यादवले १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका हुन्।
असोज ३ र ४ गते गर्न लागिएको भनिएको अधिवेशनलाई उनले ‘कथित वडा अधिवेशन’ को संज्ञा दिँदै त्यसमा सहभागी नहुन आग्रह गरे।
यादवले भने, “१४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु।” उनले असोज ३ र ४ गते हुने भनिएको अधिवेशनमा सहभागी नहुन पनि अपिल गरेका छन् ।

