करैयामाई-१ मा घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण

साझेदारी डेलि
59 पाठक संख्या

बारा । बाराको करैयामाई गाउँपालिका–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ८५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएका लाभग्राहीको घरमै पुगेर नाम नवीकरण गरिएको छ।

वडा कार्यालयले भौतिक रूपमा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक तथा अपांगता भएका लाभग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ताको नवीकरण गरेको जनाएको छ। घरमै पुगेर नवीकरण गरिएपछि लाभग्राहीलाई वडा कार्यालय धाउनुपर्ने बाध्यता कम भएको छ।

नवीकरण अभियानमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो, पञ्जीकरण शाखा प्रमुख सुमिता चौधरी, वडा नं. १ की वडा सचिव भद्रकुमारी अस्थानी, कम्प्युटर अपरेटर प्रणिता चौधरी तथा वडा सदस्य नेसारुल मियाँ अन्सारीको विशेष पहल रहेको जनाइएको छ।

वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीमध्ये हालसम्म नाम नवीकरण गर्न छुटेकाहरूले वडा कार्यालय, मधुवनमा सम्पर्क गरी नवीकरण गराउन सक्नेछन्।

छुट भएका लाभग्राहीले २०८३ असोज २८ गतेभित्र अनिवार्य रूपमा आफ्नो नाम नवीकरण गराउन वडा कार्यालयले आग्रह गरेको छ। तोकिएको समयभित्र नवीकरण गराई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्बन्धित सबै लाभग्राहीलाई सूचित गरिएको वडा अध्यक्ष सोनालाल साहले जनाएका छन ।

Leave a review