कलैया । बाराको कलैया उपमहानगरपालिका-१४ मा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि तथा अध्ययनप्रतिको रुचि बढाउने उद्देश्यले वडास्तरीय हाजिरीजवाफ तथा नेपाली–अंग्रेजी वाचन प्रतियोगिता सम्पन्न भएको छ।
पत्रकार रमेश ठाकुरको आयोजनामा भौँरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा बिहिवार आयोजित प्रतियोगितामा वडा नं. १४ का तीन सामुदायिक विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
हाजिरीजवाफ प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँरा प्रथम, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवन दोस्रो र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीनिया तेस्रो भएका छन्।
त्यस्तै, कक्षा ५ का विद्यार्थीबीच भएको नेपाली वाचन प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँरा प्रथम भएको छ भने अंग्रेजी वाचन प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवन प्रथम भएको छ।
विद्यार्थीको प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा अध्ययनप्रति रुचि जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पत्रकार ठाकुरले बताए। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने र उनीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्ने लक्ष्यसहित विद्यालयका प्रधानाध्यापकसँगको समन्वय र सहकार्यमा कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए।
उनका अनुसार विद्यार्थीको शैक्षिक क्षमता विकासलाई निरन्तरता दिन आगामी दिनमा यस्ता प्रतियोगिता हरेक महिना सञ्चालन गरिनेछ ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँराका प्रधानाध्यापक ब्रजकिशोर मिश्रले विद्यार्थीको प्रतिभा प्रस्फुटन र क्षमता विकासका लागि प्रतियोगितात्मक कार्यक्रम प्रभावकारी हुने बताए।
उनले कार्यक्रम आयोजना गरेकोमा पत्रकार ठाकुरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयोजक पत्रकार रमेश ठाकुर तथा विशिष्ट अतिथिका रूपमा कलैया उपमहानगरपालिका–१४ का कार्यवाहक वडा अध्यक्ष परयाग ठाकुर सहभागी थिए। कार्यक्रममा तीनवटै विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।


