बारा । दीपावली तथा छठ पर्वको अवसरमा सिर्सिया नदीमा प्रदूषण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाराले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–१, २, ३, ५, ७, ८, ९, १०, २३ र २४ को दक्षिणतर्फबाट बग्ने सिर्सिया नदीमा प्रदूषणजन्य फोहोरमैला तथा विषाक्त रसायन प्रवाह नगर्न आग्रह गरेको हुन्।

नेपालीहरूको महान् पर्व दीपावली तथा छठको अवसरमा सिर्सिया नदीमा घाट निर्माण गरी श्रद्धालु भक्तजनहरूले स्नान, ध्यान तथा पूजापाठ गर्ने परम्परा रहेकाले नदीलाई स्वच्छ र पवित्र राख्नु सबैको साझा दायित्व भएको प्रशासनले जनाएको छ ।
नदी आसपासमा सञ्चालित सम्पूर्ण उद्योग तथा औद्योगिक प्रतिष्ठानबाट निस्किने कुनै पनि प्रकारका प्रदूषणजन्य फोहोरमैला तथा विषाक्त रसायन नदीमा निकास, विसर्जन वा प्रवाह नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।
त्यसैगरी नदी आसपासको क्षेत्रमा सरसफाइ कायम राख्न, फोहोर तथा ढलको उचित व्यवस्थापन गर्न र नदी प्रदूषण नियन्त्रण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
सूचनाको विपरीत नदीमा प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।



