बारा । बारामा श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका–७ जोतपुर गमरियामा बस्ने अन्दाजी २८ वर्षीय अलियास अंसारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अंसारीले गत कात्तिक १७ गते राति जीतपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुर निवासी आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अंसारीलाई ससुराली घरनजिकै रहेको आँपबारीमा बोलाएका थिए।
सोही क्रममा घरायसी विवाद भएपछि उनले श्रीमतीको पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि उनी फरार भएका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई उपचारका लागि सुरुमा वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि वीरगन्ज हेल्थकेयर लगिएकोमा शल्यक्रिया गरी हाल आईसीयूमा राखेर उपचार भइरहेको बाराका प्रवक्ता मीन बहादुर घलेले जानकारी दिएका छन् ।
घटनापछि फरार रहेका अलियासलाई बिहिवार (आज) दिउँसो अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो।
पक्राउ परेका अंसारीलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।



