करबाट राज्यको ढुकुटी बलियो हुन्छ : सिडिओ अधिकारी

साझेदारी डेलि
75 पाठक संख्या

बारा । करबाट राज्यको ढुकुटी बलियो हुने र विकास निर्माणका काम अघि बढाउन राजस्व महत्वपूर्ण भूमिका खेल्ने बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताएका छन्।

बारामा १५ औँ राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताहका अवसरमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नागरिकले इमानदारीपूर्वक कर दाखिला गर्नुपर्नेमा जोड दिएका हुन्।

जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहेका अधिकारीले सबैलाई करको दायरामा ल्याउनुपर्ने बताए। करदाता शिक्षा कर सप्ताहमा मात्र सीमित नभई निरन्तर अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो।

कर प्रशासन झन्झटिलो नभई करदातामैत्री हुनुपर्नेमा जोड दिँदै उनले व्यवसायीहरूले पनि सदाचार र इमानदारीको पालना गरी राज्यलाई बुझाउनुपर्ने कर इमानदारीपूर्वक दाखिला गर्नुपर्ने बताए। यसले मुलुकलाई समुन्नत बनाउनुका साथै सुशासन कायम गर्ने आधार तयार पार्ने उनले उल्लेख गरे।

राज्यको कोष तथा ढुकुटी बलियो भए देश पनि बलियो हुने बताउँदै अधिकारीले विकासका कामलाई अघि बढाउन राजस्व महत्वपूर्ण रहेको बताए। नागरिकबाट संकलित करले राज्यको ढुकुटी बलियो बनाउने भएकाले कर छली नगरी इमानदारीपूर्वक कर दाखिला गर्न उनले आग्रह गरे।

“कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत विकास कुमार रजकको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयको कार्यक्षेत्रअन्तर्गत दर्ता रहेका करदातामध्ये आयकर दाखिलाका आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो।

वित्तीय संस्था (सेवा) तर्फ कलैया–१ स्थित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उद्योगतर्फ परवानीपुर–८, लिपनीमालस्थित पोषक ब्रिडर फार्म प्रा.लि. र ट्रेडिङतर्फ रौतहटको गरुडा–२ स्थित जय माँ शाकम्बरी ट्रेडर्स उत्कृष्ट करदाताका रूपमा छनोट भएका थिए। उनीहरूलाई कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यापारी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

Leave a review