सन्दिप यादव/
बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालको दयनिय अवस्थामा रहेको छ । अस्पतालमा ल्याईएको लाखौ रुपैया बरावरको मेशिनहरु लथालिङ्ग अवस्थामा छन ।
अस्पतालमा रहेको ५२ लाख २० हजार रुपैयाँको लागतमा खरिद गरिउको हेमोडायलासिस् मेशिन कलैयाको प्रादेशिक अस्पताल परिसरको आईसीयू वार्डको ढोका अगाडि दुई वर्ष देखि थन्किएको अवस्थामा छ ।
अस्पतालमा हेमोडायलाइसिस मेसिनको कक्ष तयार भए पनि प्रशासनको लापरर्वाहीका कारण महँगो उपकरण अस्पताल परिसरमै कार्टुनको ¥यापिङले छोपेर राखिएको छ । मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापनले ७८/०३/०४ मा २ सेट र ७९/०३/२७ गते ३ सेट गरि ५ सेट सहयोगमा प्रादेशिक अस्पताल कलैयालाई दिएको थियो ।
मेसिनको प्रति इकाई मुल्य दस लाख चौवालिस हजार रुपैंया गरि पाँच सेटका बाउन्न लाख बीस हजार रुपैयाँ रहेको छ । कक्ष जनशक्ति र सेट गर्ने कोठाको अभावका कारण मेशिन जडान गर्न नसकेको पछि मेशिन अस्पताल परिसरमै प्रयोगविहीन बनेको छ । महँगो र अति नाजुक मानिने यो मेशिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा पार्टपुर्जा चोरी हुनसक्ने सम्भावना पनि उत्तिक्कै रहेको सेवाग्राही सुजित यादव बताउछन ।
साथै सेवाग्राहीका लागि अति उपयोगी हुनसक्ने मेशिनलाई अस्पताल परिसरमै कार्टुनको ¥यापिङले छोपेर राख्दा असुरक्षित हुने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् । एकातिर अस्पतालमा हेमोडायलाइसिस मेसिन कक्ष तयार छैन । अर्कोतिर आइसकेको मेसिन दुई वर्षदेखि जडान नगरी खुला आईसीयू वार्डको ढोका अगाडि राखिएको छ, यादवले भने, ‘यो कस्तो बिडम्बना हो, कक्ष तयार छैन भने त्यसमा मेशिन जडान गरेर कम्तीमा मेसिनलाई सुरक्षित राख्नुप¥यो ।
अस्पतालका प्रवक्ता प्रेम कुमार पण्डितले हेमोडायलाइसिस मेसिन राख्ने कोठाको अभावका कारण मेसिन जडान गर्न नसकेको जवाफ दिँदै आएका बताउँछन् । उनले अस्पतालमा हेमोडायलाइसिस मेसिन कक्ष तयार नहुनुका साथै यो उपकरण सञ्चालन गर्न अस्पतालसँग जनशक्ति समेत उपलब्ध नरहेको बताए । हामीसँग तत्काल नेपाल सरकारको मापदण्ड अनुसारको मेसिन चलाउने जनशक्ति उपलब्ध छैन । उनले भने थप एक जना हेमोडायलाइसिस गर्ने डाक्टर जनशक्ति थपिएको खण्डमा सहजतापूर्वक यो मेशिन सञ्चालन गर्न सकिन्छ ।
प्रोभ ओफ इको मेसिन खरिद गर्न ७ लाख रुपैया अस्पताल संग नभएको कारण मुटु सम्बन्धि एक्स रे गर्ने संचालनमा आउन सकेको छैन । मेशिन सञ्चालन आएमा हेमोडायलाइसिस मेसिनले मानव शरीरको सुक्ष्म भागहरुको एक्स रे गरेर रोग पहिचान गर्ने हुँदा सेवाग्राहीले प्रादेशिक अस्पताल कलैयाबाटै भरपर्दो र सस्तो उपचार सेवा पाउने स्टोरम्यान मनोज यादवले दाबी गरेका छन् । बारा देखि रौतहटसम्मका तथा सीमावर्ती भारतीय गाउँका बिरामीहरुले समेत उपचार गराउन आउने गरेका छन् ।