संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सबैको सहकार्यमा खेलकुदको बिकास गर्न सकिने बताउँनुभएको छ ।
खेलकुदको माध्यमबाट आर्थिक ,सामाजिक र साँस्कृतिक बिकास गर्न सकिने धारणा ब्यक्त गर्नुभयो । सिमरा रंगशाला स्तरोन्नतिका लागि सँघीय सरकारले बजेट विनियोजन गरेको मन्त्री लिम्बुले बताउनुभएको छ । रंगशालाको विकासका लागि यस वर्ष सरकारका तर्फबाट ५० लाख रुपियाँ विनियोजन गरिएको शनिवार सिमरामा आयोजित एक कार्यक्रममा मन्त्री लिम्बुले बताउनुभएको हो ।
११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा छलफल गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री लिम्बुले संघ, प्रदेश र स्थानीय सरकार समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश सरकारले पनि खेलकुद विकासका लागि विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो ।मन्त्री लिम्बुले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा गर्ने गरी छलफल भईरहेको बताउनुभयो ।
उहाले सिमरा रंगशालामा प्रतियोगिता आयोजना गर्ने बिषयमा पनि छलफल भईरहेको जिकिर गर्नुभयो ।उहाँले ११ औँ राष्ट्रिय खेलकुद जीतपुरसिमरामा आयोजना भयो भने यस क्षेत्रको आर्थिक गतिविधि र पर्यटन विकास हुने धारणा समेत राख्नुभयो ।सो अवसरमा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ११औ राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गर्न आफूहरु तयार रहेको भनाइ राख्नुभयो । कार्यक्रममा मन्त्री लिम्बुलाई जीतपुर सिमराको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंगले ११ औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा राख्न उत्साहित भएको धारणा व्यक्त गर्नुभयो । नगरप्रमुख राजन पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न खेल क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

