जीतपुरसिमरा उपमहानगरपालिकाले ३० प्रतिशत बजेट कटौति ग¥यो

रञ्जन यादव
400 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको वडा स्तरीय बजेटमा ३० प्रतिशतले कटौती गरेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को लागि स्वीकृत भएको वडा स्तरीय कार्यक्रम तथा योजनाहरुको ३० प्रतिशत बजेट कटौति गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

कार्तिक २२ गते नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले स्वीकृत बजेटमा ३० प्रतिशत बजेट घाटा बजेट रहेकाले ७० प्रतिशत बजेटको सीमा भित्र रही योजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

साथै बैठकले मंसिर मसान्त सम्ममा खरिद बिधि (उपभोक्ता समिति, सिलबन्दी कोटेशन,बोलपत्र ) छनोट गरेर फागुन मसान्त भित्र खरिद सम्झौता गर्ने योजना तथा कार्यक्रमहरु कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको बजेट योजना तथा सूचना प्रविधि महाशाखा प्रमुखले जारी गरेको सूचनामा उल्लेख छ ।

आन्तरिक आय तर्फ कुल बजेट रु १३९ करोड बजेट अनुमान गरिएकोमा हालसम्ममा ५४ करोड आम्दानी भई संचित कोषमा दाखिला भएकाले बजेटको सुनिश्चितता नभएका कारण यस्तो गर्नुपरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउन देखि कार्तिक २४ गतेसम्म छ करोड १६ लाख चार हजार नौ सय ८१ रुपैयाँ राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

Leave a review