कस्टमर केयर सर्भिस तालिम सम्पन्न

रञ्जन यादव
472 पाठक संख्या

होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित युवाहरुलाई ‘कस्टमर केयर सर्भिस’तालिम प्रदान गरिएको छ ।

बाराको सिमरामा ‘कस्टमर केयर सर्भिस’ तालिम निशुल्क प्रदान गरिएको हो ।नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा सो तालिम दिइएको हो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले पाँच दिने तालिमको आयोजना गरेको थियो । तालिममा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत र उच्च शिक्षा अध्ययन गरिरहेका ३३ जना युवाहरु सहभागी थिए ।

नेपालमा युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना संचालन भईरहेको छ ।

उक्त परियोजनामा होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ । सोही परियोजना अन्तर्गत नाट्टा केन्द्रीय कार्यालयको सहयोगमा मधेस प्रदेश कमिटीले पाँच दिने तालिमको आयोजना गरेको हो ।

होटल तथा पर्यटन क्षेत्रका लागि तालिम अत्यन्त फलदायी हुने नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । तालिममा सहभागी प्रशिक्षार्थीले रोजगार प्राप्त गर्न सहज हुने उनले जनाए । दक्ष जनशक्ति उत्पादनसंगै होटल तथा पर्यटन क्षेत्रको सेवालाई थप सुलभ र व्यावसायिक बनाउन तालिमबाट मद्दत पुग्नेमा आशावादी रहेको शर्माले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाकाको नगर प्रमुख राजन पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । प्रशिक्षक बिनय शाक्य,हान नेपाल मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान,सञ्चारकर्मी विदुर खड्का,प्रशिक्षार्थीहरु प्रीति भुजेल र आजाद हुसेन लगायतले मन्तव्य राख्दै तालिमको महत्वबारे प्रकाश पारे ।

कार्यक्रममा नाटा मधेशप्रदेशका वरिष्ठ उपाध्यक्ष बिनोद चौधरीले धन्यवाद मन्तव्य व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीको थियो ।

Leave a review

This will close in 0 seconds