आइतबारदेखि सिम्रौनगढका सामुदायिक विद्यालय र नगर अस्पताल सञ्चालन हुने

संदिप प्रसाद यादव
467 पाठक संख्या

करिब पाँच महिना देखि बन्द रहेको सिम्रौनगढका सामुदायिक विद्यालय र नगर अस्पताल आइतबार देखि खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको संयोजकत्वमा शुक्रबार बसेको सिम्रौनगढको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

सिम्रौनगढ नगरपालिका भित्र रहेका स्वास्थ्य क्षेत्र,शिक्षा क्षेत्रको समस्या तथा कार्यरत कर्मचारीको समस्या एवं पालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरु शिक्षक तथा करारमा कार्यरत कर्मचारीको तलब भत्ता भुक्तानीको सम्बन्धमा भएको छलफलमा यस्तो निर्णय भएको हो ।

नगर अस्पतालको संचालन तथा त्यस सँग सम्बन्धी समस्याको समाधान गर्न बैठक बसेको हो । बैठकमा सिम्रौनगढ नगरपालिकामा बन्द रहेका स्वास्थ्य कार्यालय विद्यालय,नगर अस्पताल संचालन गर्ने सहमति भएको हो ।

लामो समय देखि लथालिङ्ग रहेको नगरपालिका बारे प्रमुख जिल्ला अधिकारीले चासो दिएर बैठक आह्वान् गरेका थिए ।

बैठकमा प्रजिअ सापकोटाले स्थानीय अस्पतालमा सिटामोल नपाउने,गरिबका छोराछोरी पढ्ने सरकारी विद्यालय बन्द गर्ने यस्ता जनप्रतिनिधिलाई अगामी चुनावमा जनताले के का लागि भोट हाल्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।

उनले सिम्रौनगढमा राजनीति ‘टु मच’ अवस्थामा पुगेको बताए् । जिल्लाको दक्षिणतर्फ भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिकामा पाँच महिनादेखि आकस्मिक सेवा सहितको नगर अस्पताल बन्द छ । करिब एक महिनादेखि सामुदायिक विद्यालयहरूको पठनपाठन पनि ठप्प रहेको छ ।

स्थायी,अस्थायी,करारका शिक्षक,कर्मचारी,स्वास्थ्यकर्मी,
नगर प्रहरीले ६ देखि १४ महिनासम्मको तलव सुविधा नपाएपछि विरोध स्वरूप अस्पताल र विद्यालय बन्द गरिएको थियो । सेवा सुविधाको माग गर्दै कर्मचारी,शिक्षक, स्वास्थ्यकर्मीले तीन महिनादेखि गरेको विरोध सभामा प्रहरीले गोली चलाउँदा एकजना स्थानीयको ज्यान गयो र धर्नाको क्रममा एकजना शिक्षकले समेत ज्यान गुमाएका थिए ।

सिम्रौनगढ नगर कार्यपालिकामा कांग्रेसको बहुमत छ । नगर प्रमुख किशोरी प्रसाद कलवार पालिकाको हित विपरीत मधेस प्रदेशका मुख्यमन्त्रीको इसारामा चल्ने गरेको कांग्रेसका वडाध्यक्षहरूको आरोप छ ।

सिम्रौनगढमा धेरै कुरामा टु मच भयो बन्दमा पनि टु मच भयो,राजनीतिक सहमतिमा पनि टु मच भयो,अब सबै कुरा बिर्सिएर सर्व सहमतिको कागजपत्र बनाउन हामीले प्रयास गरेका छौं’प्रजिअ सापकोटाले भने–‘जनताले साह्रै दुख पाए भनेर यो पटक समस्या समाधानमा हामी पनि लागेका हौं ।’

सापकोटाले मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति भइसकेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बारामा बसेको बैठकले तीन बुँदे सहमति समेत गरेको छ ।

स्थानीय तहका कर्मचारीहरु,स्वास्थ्य अस्पताल तर्फका स्थायी करार कर्मचारीहरु एवं शिक्षकहरुको विगतको बाँकी तलब भत्ताको भुक्तानी सिम्रौनगढ नगरपालिकाले पुस १५ गते भित्र गर्ने सहमति भएको छ ।

सबै पक्षको तलब भत्ता भुक्तानी गरिसके पछि शिक्षा,स्वास्थ्य,नगर अस्पताल तथा करार कर्मचारीहरुको मागको सम्बन्धमा सिम्रौनगढ नगरपालकाको नगर प्रमुखले उक्त मागहरु सहमतिमा क्रमशः सम्बोधन गर्दै जाने सहमति गरिएको छ ।

त्यस्तै सिम्रौनगढ नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु, स्वास्थ्य कार्यालय,स्वास्थ्य चौकीहरु,नगर अस्पताल लगायत सिम्रौनगढ नगरपालिका भित्रको स्थानीय तहका सम्पूर्ण कार्यालयहरु पुस ८ गते आइतबार देखि सञ्चालन गर्ने सर्व सम्मत निर्णय गरिएको छ ।

बैठकमा भएको सहमति कार्यान्वयन गर्ने नगर प्रमुख किशोरी प्रसाद कलवारले प्रतिबद्धता जनाएका छन् ।

उक्त बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी सापकोटा,सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख कलवार,सिम्रौनगढ नगरपालिकाका नगर उपप्रमुख नजमु शेहर,शिक्षक संघ बाराका राज किशोर सहनी,सिम्रौनगढ नगरपालिका– ४ वडा अध्यक्ष अवधेश सहनी,७ का वडा अध्यक्ष विवेक मेहता,८ का वडा अध्यक्ष राम दिनेश यादव,सिम्रौनगढ नगरपालिका नगर अस्पतालका प्रमुख डा. जितेन्द्र यादव,मनु यादव,शिक्षक उमा शंकर यादव,करार कर्मचारी नितेश यादव,शिक्षा शाखा प्रमुख कमलेश प्रसाद अग्रहारी,नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधि रजकपुर सहनी र वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review