विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
प्रहरीले छुवाछूतको मुद्दामा अदालतबाट एक महिना कैद र पाँच सय रुपैयाँ जरिवाना पाएका बाराको कलैया उप–महानगरपालिका वडा नं. १७ मा बस्ने ४७ वर्षीय राजेन्द्रप्रसाद साह तेलीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
त्यस्तै वन मुद्दामा अदालतबाट ७२ हजार रुपैयाँ जरिवाना पाएका जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैयामा बस्ने ५८ वर्षीय कुमार लामा पक्राउ परेका हुन् ।
वन मुद्दामा अदालतबाट एक महिना कैद र एक लाख पाँच हजार रुपैयाँ जरिवाना पाएका जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैयामा बस्ने ६५ वर्षीय कृष्ण बहादुर राई पनि पक्राउ परेका छन् ।


