जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका सरसफाईकर्मीहरुको लागि बाराको सिमरामा सुरक्षा तथा स्वास्थ्य बचाउँ सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ ।
ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र,ललितपुरको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको समन्वयमा उक्त तालिम भएको हो । तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले सरसफाईकर्मीहरुले कार्यस्थलमा सरसफाईको क्रममा उत्पन्न हुने सुरक्षाबारे ज्ञान लिएर आफनो ब्यवहारमा लागु गर्न आग्रह गरे । उपमहानगरपालिकाले सुरक्षा तथा स्वास्थ्यको मापदण्ड गम्भिरतापुर्बक लागु गर्ने भएकाले,यसको पुर्ण रुपमा पालना गर्न अनुरोध गरे ।
उनले ठेकदारले पालना गर्नुपर्ने कुराहरु ठेकदारले पालना गर्नुपर्छ र उपमहानगरपालिकाले पालना गर्नुपर्ने कुरा उपमहानगरपालिकाले पालना गर्छ । नगर प्रमुख पौडेल हाम्रो समाजमा कतिपय कुराहरु जानकारी भएर पनि आफनो ब्यवहारमा लागु नगर्ने परिपाटी रहेका कारण यस्तो बानी त्याग्नुपर्नेमा जोड दिए ।
सरसफाईकर्मीहरुको कार्यस्थलमा हुन सक्ने सम्भाबित खतराका स्रोतहरुको पहिचान गरी,सोबाट हुनसक्ने जोखिम न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख अधिकृत रमेश सुबेदीले जानकारी दिए ।
तालिममा कार्यस्थललाई सुरक्षित बनाई स्वस्फुर्त ढङ्गले काम गर्ने बाताबरणको सृजना गर्ने,कार्य प्रकुतीको स्वरुप अनुसार ब्यक्तिगत सुरक्षा उपकरणको चयन गने,प्रयोग गर्ने र गर्न लगाउँने,प्राथमिक उपचार लगायतको बिषयमा सरसफाईकर्मीहरुलाई तालिम प्रदान गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रबक्ता अधिकृत सतिश उपाध्याय र जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए । तालिममा ४० जना सरसफाईकर्मीहरुको सहभागिता रहेको थियो ।
केन्द्रका प्रबक्ता अधिकृत उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रबक्ता भोज बहादुर खत्री,राजश्व तथा खरिद शाखा प्रमुख सुबेदी लगायतको सहभागिता रहेको थियो ।


