जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्साको बिजयी शुरुआत

साझेदारी दैनिक
284 पाठक संख्या

पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजक आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै उसले विजयी शुरुआत गरेको हो । उसले ७७ रनले आयोजकलाई पराजित गरेको हो ।

पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका हुन् । टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पर्साका लागि अकिबले ६३ रन बनाए । आयोजकका कप्तान सुरज लामाको बलमा उनी मैदानबाट बाहिरिएका हुन् । उनले ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

यसैगरी अनुज चौहानले ३५ बलमा ३७ रन बनाए । पर्साका अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । १४ रनमै तीन विकेट गुमाएको पर्सालाई अकिब र अनुजले सम्हालेका हुन् । आयोजकका लागि कप्तान सुरज लामाले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए । अजय पटेलले दुई ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट लिएका थिए । आयोजकका लागि आजाद अंसारीले दुई विकेट लिए ।

पर्साले १३७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आयोजकलाई ५९ रनमै समेट्यो । आयोजकका लागि इर्साद अख्तरले १३ र अनिल खड्काले १० रन बनाए । अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

पर्साका अल्फाज अंसारी, सम्साद मन्सुरी, अजबाज अंसारी र अकिब अंसारीले समान दुई÷दुई विकेट लिए । पर्साका अकिब खेलको प्लेयर अफ दि म्याच घोषित भए । अकिबलाई शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डलले दुई हजार नगद र ट्रफि प्रदान गरेका थिए । शुभारम्भ कलेजले प्लेयर अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको हो ।

प्रतियोगिता अन्तर्गत आइतबार पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लबबीच खेल हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा संचालन प्रतियोगिताको समूह विजेताले उपाधीका लागि भिडन्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि मधेस प्रदेश क्रिकेट संघ,बारा क्रिकेट संघ,पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकिय सहयोग गरिरहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजन पौडेल ब्याटिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले बलिङ गर्दै गरेका थिए ।

प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,वडासदस्य,राजनीतिक दलका प्रतिनिधि,क्रिकेट संघका विभिन्न तहका पदाधिकारी,सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण श्रीराम रेग्मीले गरेका छन् । उद्घाटन समारोहको सञ्चालन त्रिलोकविक्रम शाहले स्वागत मन्तब्य राखेका थिए ।

Leave a review

This will close in 0 seconds