एपिएफ क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाईनलमा

साझेदारी दैनिक
342 पाठक संख्या

सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तरगत भएको खेलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सेमीफाइनलमा प्रवेश गरको छ ।

दोश्रो क्वाटरफाइनल अन्तरगत सोमवार भएको खेलमा मकवानपुर ११ हेटौंडालाई २–० गोल अन्तरले हराउदै एपिएफले सेमीफाईनलको यात्रा तय गरेको हो ।

सिमरा रङ्गशालामा साँझ भएको खेलमा शुरुदेखिनै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औं मिनटमा विके तामाङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौंडाका डिफेण्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको फेरी ६८ औं मिनटमा अर्का एक गोल थप गर्दै अग्रता दोब्बर बनायो । एपिएफका प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । उनले सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै गोल गरेका थिए ।

दोश्रो हाफमा एपिएएफ विरुद्ध केहि राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुकेपछि मकवानपुर ११ प्रतियोगिताबाट बाहिरीन बाध्य भयो ।

सोमबारको खेलमा म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । म्यान अफ दि म्याच श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कार वितरण गरेका थिए ।

यसैगरी प्रतियोगिता अन्तर्गत मंगलबारको खेल ‘ए’ डिभीजन टोली त्रिभूवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds