बारामा अनुचित लेनदेन सम्बन्धी नौ सय एकासी उजुरी मिलापत्र

संदिप प्रसाद यादव
480 पाठक संख्या

बारामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेका उजुरीमा हालसम्म नौ सय ८१ वटा उजुरीमा मिलापत्र भएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी हालसम्म करिब तीन हजार चार सय ९६ वटा अनुचित लेनदेनका उजुरीहरु परेका छन् ।

जसमध्ये दुवै कार्यालयबाट हालसम्म नौ सय ८१ वटा उजुरीको मिलापत्र भई फर्छौट भएको जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार प्रगति विवरण सार्वजनिक गर्दै जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएको थियो भने जिल्ला प्रहरी कार्यालयमा थप एक सय ७४ वटा उजुरी परेको छ ।

अहिले गृहमन्त्रालयले अनुचित लेनदेनको मुद्दा हेर्ने सम्पूर्ण जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिईएको छ ।

गत माघ २३ गतेदेखि प्रहरीले मुद्दा हेर्ने जिम्मेवारी पाएपछि बारा प्रहरीले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी प्रहरी कार्यालयमा आएपछि दुबै पक्षलाई उपस्थिति गराई सत्यतथ्य बुझी सहजीकरण गरी समस्याको सुनुवाइ तथा उजुरीमाथी छलफल कार्य भई रहेको छ ।

प्रहरी कार्यालयमा नै उजुरी लिने व्यवस्था भएपछि हालसम्म एक सय ७४ वटा नंया उजुरी परेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरी कार्यालयमा उजुरी हेर्ने अधिकार पाए यता तीन सय छ वटा उजुरीहरुको मिलापत्र गराई फर्छौट गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म नौ सय एकासी वटा उजुरीमाथि छलफल,समन्वय,सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार कूल रु ३२ करोड ३ लाख ६२ हजार ८ सय ७ रुपैया बराबरको पीडकको मागदाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट सहमति,मेलमिलाप भएको विगो रकम रु १९ करोड ३३ लाख १९ हजार ४ सय ७९ रुपैयाँमा टुङ्गो लगाइएको छ ।

जसमध्ये छानबिन पश्चात ८९ कित्ता जग्गाको २५ विघा १३ कठा ७ धुर जग्गा फिर्ता गराइएको उनले बताए ।

मिटरब्याजी विरुद्ध हालसम्म दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा जमिन सम्बन्धी मिटरब्याज पीडितको उजुरी छ ।

कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको,दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको छ ।

परेका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी,साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने,आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको प्रवक्ता न्यौपानेले साझेदारी दैनिकलाई बताए ।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहेको वा नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाई छ ।

मिटरब्याज सम्बन्धी समस्यालाई समाधान गर्नका लागि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय मार्फत अनुचित लेनदेन सम्बन्धी उजुरी लिन सुरु गरिएको थियो ।

Leave a review