नवराज चौलागाईं/
निजगढका अगुवा कृषक हिरा बहादुर थापा मगर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा पुरस्कृत भएका छन् ।
वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुको लागि राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत मन्त्रालयले प्रदान गर्ने आर्थिक वर्ष २०८०÷०८१ को उद्यमी राष्ट्रिय पुरस्कार द्वारा कृषक मगर पुरस्कृत भएका हुन् ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा मगर आइतबार पुरष्कृत भएका हुन् ।
मधेस प्रदेशबाट पुरस्कारको लागि छनोट भएका थापा मगरलाई मन्त्री डोल प्रसाद अर्यालले नगद ७५ हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरेका हुन् ।
वैदेशिक रोजगारीको लागि एक दशक मलेसिया बसेका थापा मगरले वि.स २०७५ सालदेखि कृषि पेशा सुरु गरेका थिए । हाल २४ बिगाह जग्गा लिजमा लिई खेती गरिरहेका थापा मगरले प्रत्यक्ष रुपमा २० जना श्रमिकहरुलाई रोजगारी प्रदान गरिरहेका छन् ।
उनले अहिले १६ बिगाह क्षेत्रफलमा केरा,५ बिगाह उखु,१ बिगाह धान,१ बिगाह मकै र करिब १ बिगाह क्षेत्रफलमा कागती र बयर खेती गरिरहेका छन् ।
कृषक मगरले व्यवसायिक खेती मार्फत वार्षिक १२ देखि १४ लाख रुपैयाँ सम्म आम्दानी गरिरहेका छन् । बैज्ञानिक तरिका बाट खेती गर्दा उब्जाउ धेरै हुने बताउने मगरले कृषकहरुले आधुनिक कृषि प्रणालीलाई अपनाउनुपर्ने सुझाव दिन्छन् ।

