वीरगञ्जस्थित सिद्धार्थ बैंकमा सोमबार अपरान्ह आगलागी भएको छ ।
आदर्शनगरस्थित बैंकको शाखा कार्यालयमा आगो लागेको थियो ।बैंकको माथिल्लो तल्लामा अचानक आगो लागेकोमा वीरगञ्ज महानगरपालिकाबाट तथा अन्य ठाउँ र प्रहरी,सशस्त्र प्रहरी अग्नि नियन्त्रकहरुको प्रयासबाट आगोलाई नियन्त्रणमा लिइएको थियो ।
आगो कसरी लाग्यो भन्ने बारेमा खुल्न बाँकी रहेको तथा घटना बारेमा थप विवरण आउँन बाँकी रहेको पर्साका प्रहरी प्रबक्ता दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।
आगो लागेकै बेलामा वीरगञ्जमा सिमसिमे पानी समेत परिरहेको थियो ।जसका कारण आगोलाई नियन्त्रणमा लिन केही हदसम्म सहयोग पुगेको थियो ।
माईस्थान भन्दा केही पर रहेको वीरगञ्जको मुख्य बाटोमै रहेको बैंकको शाखामा आगलागी भएको हो । यसपछि प्रहरीले बाटोमा आवत जावत र गाडीहरु बन्द गरेको थियो ।
केही समय अघि मात्रै आदर्शनगरमै रहेको एनआईएमबि बैंक अगाडि रोकेर राखिएको दुई वटा मोटरसाईकलमा पनि आगो लागेको थियो ।


