वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहको शैलीमा काम गर्न थालेका छन ।
उनले बालेन कै शैलीमा फोहोर गर्ने निकायकै गेटका फोहोर लगेर थुपार्ने गरेका छन । र्सिसिया नदीमा फोहोर फाल्ने वीरगञ्जका उद्योगहरुको गेटमा फोहोर फालिएको छ ।
नदीमा फोहोर मिसाएको भन्दै वीरगञ्ज महानगरपालिकाले नै उद्योगहरुको गेटमा फोहोर फालेको हो ।
आईतबार बिहान महानगरपालिकाले वीरगञ्जका बिभिन्न स्थानबाट उठाएको फोहोर ट्याक्टरले नदीमा फोहोर फाल्ने उद्योगको गेटमा फालिदिएको हो ।
र्सिसिया नदीमा फोहोर पानी मिसाउने गरेको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको अरनिका प्रोसेसिङ उद्योग प्रालि, श्री सिद्धि टेक्सटाइल्स प्रालि र मरियम लेदर इण्डस्ट्रिजमा महानगरबाट सँकलन गरिएको नौ ट्याक्टर फोहोर थुपारिएको हो ।
ती उद्योगहरुले बर्षौदेखि आफनो उद्योगबाट निस्केको फोहोर पानी सिधै र्सिसिया नदीमा मिसाउदै आएका छन । ती उद्योगहरुले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर उधोगबाट निस्केको फोहोर प्रशोधन गरेर नदीमा मिसाउन महानगरले अनुरोध गर्दै आईरहेको छ ।
महानगरका मेयर राजेशमान सिँहको निर्देशनमा चेतावनी स्वरुप उद्योगको गेटमा फोहोर थुपारिएको महानगरको सरसफाई शाखाले जानकारी दिएको छ ।
यसअघि गतबर्ष नै महानगरले उपमेयर ईम्तियाज आलमको सँयोजकत्वमा र्सिसिया नदीलाई सफाई गर्ने अभियान चलाएको थियो । अभियान अन्र्तगत नदीमा फोहोर फाल्दै आएको उद्योगको अनुगमन गरि वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न तथा जडान भएका उद्योगमा प्लान्ट सञ्चालन गरि फोहोर बिसर्जन गर्न महानगरले आग्रह गरेको थियो ।
पटक पटक महानगरसहित सम्बन्धित निकायले र्सिसिया नदी सफाई गर्ने भनेपनि हालसम्म नदीको सफाई हुन सकेको छैन । र्सिसिया नदीमा पर्सा,बाराका दर्जन भन्दा बढी उद्योगहरु जस्तै छाला,कपडा लगायतका उद्योगले फोहोर पानी सिधै नदीमा मिसाउदै आएका छन ।
महानगरले यसअघि केही उद्योगहरुलाई नगद जरिवाना गरेको भएपनि उद्योगहरुले र्सिसिया नदीमा फोहोर फाल्न छाडेका छैनन ।
केही समय फोहोर पानी नदीमा फाल्न रोकेपनि नदीमा भने अधिकाँश उद्योगहरुले सिधा फोहोर पानी मिसाउने गरेका छन ।
जसले गर्दा र्सिसिया नदी अत्याधिक दुर्गन्धित हुन पुगेको छ । नदीमा पानी पिउन जाने पशु चौपायाहरुलाई पनि छाला सम्बन्धि बिभिन्न रोगहरु लाग्ने गरेको छ ।


