रौतहट : रौतहटको कटहरिया नगरपालिका–९ डुमरियास्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थीलाई मंगलबार विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।
कटहरिया नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जैसवालले विद्यार्थीहरूलाई पोशाक, टाई, बेल्ट, जुत्ता, मोजा, आईडी कार्ड र ब्यागलगायतका सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले विषम परिस्थिति बीच पनि विद्यार्थीहरूको पढाइ–लेखाइमा अवरोध नआओस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासनका साथ अध्ययनमा ध्यान दिन र आफ्नो भविष्य उज्जवल बनाउन मेहनत गर्न आग्रह गर्नुभयो। साथै, शिक्षकहरूलाई विद्यार्थीहरूको पठन–पाठनमा कठिनाइ आउँदा तुरुन्त समाधान गर्न आग्रह गर्दै शिक्षामा सुधार नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक नवल किशोर ठाकुरका अनुसार २०८१/८२ आर्थिक वर्षको विनियोजित बजेटबाट २२ लाख रुपैयाँ खर्च गरी शैक्षिक सामग्री खरिद गरिएको हो। विद्यालयमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन्, जसमा ५ सय विद्यार्थीलाई सामग्री वितरण गरिएको उनले जानकारी दिनुभयो। प्रधानाध्यापक ठाकुरले विद्यालय विगतमा निकै दयनीय अवस्थामा रहे पनि विद्यालय परिवारको अथक प्रयास र नगरपालिकाको सहयोगले सुधारोन्मुख अवस्थामा पुगेको बताए।
विद्यालयका प्रधानाध्यापक ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली, लेखा प्रमुख कामेश्वर सहनी, शिक्षा संयोजक सुरेन्द्र ठाकुर, स्थानीय सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा अभिभावकहरू लगायतको उपस्थित थियो।

