कलैया : बारा प्रहरीले लाखौंको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका र बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
सो ट्रकबाट सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू.८० लाख पाँच हजार तीन सय ४७ रूपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका –८ अर्नाहा चोकबाट भन्सार छली गरी ना.२६ प १४१३ नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको सामान बरामद गरेको छ ।
सो मोटरसाइकलमा कलश एक सय १५ पिस, हट केश १० पिस,किस्ती २६ पिस गरी जम्मा मुल्य रू.१ लाख ५६ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर स्थित वीरगंजबाट पथलैया जादै गरेको बिभिन्न किसिमको सवारी साधनहरूलाई रोकी जाँच गर्ने क्रममा सामानहरु बरामद गरेको हो ।
सो सवारी साधनबाट बिल भरपाई नभएको अन्दाजी दुई लाख ७८ हजार सात सय १० रुपैयाँ बराबरको बिभिन्न किराना सामानहरू नियन्त्रणमा लिएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थितमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ३ च ५९०८ नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा प्याज बरामद गरेको छ ।
सो पिकअपबाट अन्दाजी मुल्य रू.१४ हजार ४ रुपैयाँ बराबरको लोड गरिएको ४ बोरा प्याज १ सय ६० किलो बरामद रहेको छ ।
प्रहरीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४४ नम्बरको डिब्बे ट्रकलाई रोकी चेकजाचँ गर्ने क्रममा ईलोक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ ।
सो ट्रकबाट विल बिजक भन्दा बढी समान रहेको र सपोटिङ बिल नभएको अन्दाजी ७५ लाख ८ हजार २ सय ३७ रुपैयाँ बराबरको कम्प्युटर पार्टस,ईलोक्ट्रोनिक्स सामान,कस्मेटिक आईटम लगायत अन्य विभिन्न खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित डेरा गरी बस्ने दिपककुमार साहले अबैध रूपमा भन्सार छली गरी ल्याई घरको कोठा भित्र लुकाई छिपाई राखेको १२ बोरा चिनी ६ सय किलो बरामद गरिएको छ ।
सो चिनीको ४८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
विभिन्न सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पर्सा,अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

