रौतहट : ओम प्रकाश यादव/ रौतहटमा दशैं मनाउन घर आएका ६ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
अदालतबाट फैसला भई कैद जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका ६ जना अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नजिर अन्सारी,सिहदान्त पासवान,रामसागर गिरी, पवनकुमार राउत कुर्मी,उमेश कुमार भन्ने अखिलेशकुमार यादव र राजेशकुमार यादव रहेका छन् ।
दसैंको अवसरमा घरमा आई लुकिछिपी बसेको अवस्थामा प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी दीपकुमार रायले जानकारी दिएका छन् ।
अन्सारीलाई सवारी ज्यान मुद्दा,पासवानलाई चोरी मुद्दा,गिरीलाई बालबिबाह मुद्दा,कुर्मी र यादवलाई चोरी मुद्दामा जरिवाना र कैद तोकिएको डीएसपी रायले बताए ।
राजेशकुमार यादवलाई भने लागुऔषध मुद्दामा ५० हजार जरिवाना तोकिएको उनले बताए ।
पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि बिहीवार जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।


