वीरगञ्ज : पर्साका नयाँ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुधबार पत्रकारहरुसित भेटघाट एवम् परिचयात्मक कार्यक्रम गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका पत्रकारहरुसित परिचय गरेका हुन्। उनले समस्या तथा समसामयिक बिषयहरुमाथि चर्चा गरेका थिए।
कार्यक्रममा जिल्लामा कार्यरत रहेका क्रियाशिल पत्रकारहरुले जिल्लाको बारेमा प्रश्न गर्नुका साथै समस्याका बारेमा प्रजिअ अर्याललाई अवगत गराएका थिए।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन तथा प्रतिलिपी निकाल्नमा बढी समय लाग्दै आएको ब्यापक जनगुनासो रही आएको जानकारी दिएका थिए।
प्रजिअ अर्यालले राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता रहेको चर्चा गरे। उनले आफु मिडियामैत्री मान्छे भएको बताएका थिए ।
पत्रकारहरुले समाजका बिभिन्न समस्या तथा बेतिथिका कुराहरु उठाउदै आएको जनाए। त्यसको जवाफमा राज्यको संयन्त्रबाट सुधारको कुरामा अघि बढने बताए। समाजका विकृति र बिसंगतिहरुलाई अगाडि ल्याउन तथा बिकाश र सुशासनको गतिलाई अगाडि बढाउनको लागि मिडियाको महत्वपूर्ण भूमिका रहि आएको जनाएका थिए ।
सकारात्मक कुराहरुलाई सञ्चार माध्यमले उठान गरिदिन उनले आग्रह गरे।
रुपन्देहीमा कार्यरत भई पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका अर्यालले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा आई पदभार ग्रहण गरेका थिए।


