चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि

रासस
322 पाठक संख्या

इनरुवा, ६ मङ्सिर : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्नुहुन्छ ।

उहाँ बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा लागिपर्नुहुन्छ । मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ । केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोवारमा वृद्धि भएको छ ।

उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोवारमा वृद्धि भएको व्यापारीले बताएका छन् । चिसोका बेला आवश्यक पर्ने सिरक, डसना,रुवा,कुर्ता सुरुवाल,टोपी,बल्याङकेटलगायत लुगाको कारोवारमा वृद्धि भएको इनरुवा–१ स्थित साडी महलका सञ्चालक शम्भु मेहताले बताउनुभयो ।

सिरक डसना बनाउनको सङ्ख्यामा वृद्धि भएको भोक्राहा–५ का खालीद मन्सुरीले बताउनुभयो । इनरुवा, इटहरी,रामधुनी,झुम्का,धरान,बराहक्षेत्रलगायत स्थानमा दैनिकरुपमा रु २० लाखभन्दा बढीको न्यानो लुगाको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका सहसचिव गौतम झाले बताउनुभयो ।

इनरुवामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन् । तयारी पोसाकमा ज्याकेट,स्वीटर,गल्बन्दी,टोपी,ट्रयाक्सुट,जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन् ।

चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्य वृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन मेहताले बताउनुभयो ।

Leave a review