कार्यवाहक प्रधानमन्त्री सिंहले बारा र रौतहटमा लागि रहेको पञ्चबर्षिय गढीमाई मेलाको उद्घाटन

साझेदारी दैनिक
522 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव / कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर र रौतहटको गढीमाई नगरपालिका –४ सुन्दरपुरमा लाग्ने विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को मंगलबार उद्घाटन तथा अवलोकन गरेका छन्।

उपप्रधान एवं शहरी विकास मन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले एक कार्यक्रमका बीच बाराको बरियारपुरमा लागि रहेको पञ्चबर्षीय गढीमाई मेलाको अवलोकन गरेपश्चात रौतहटको सुन्दरपुर गढीमाई मेलाको उद्घाटन गर्न पुगेकाहुन्।

रौतहट मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई लयमा ल्याउने गरी काम गरिरहेको बताए। यस अघि राजनीतिक अस्थिरताका कारण बिग्रेको अर्थतन्त्रलाई यो सरकारले व्यापक सुधार गर्न लागि परेको उनले बताए।

आफूहरुको प्रयासले केहीदिन मै देशको अर्थतन्त्रमा व्यापक सुधार भएको उनको दावी थियो । देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरु अहिले चीन भ्रमणमा रहेको उनले जनाए।

कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले देशको अर्थतन्त्र मजबूत र चलायमान बनाउन निकै टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

विदेशी मित्र राष्ट्रहरुसंग अनुदान लिएर भएपनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको उनको भनाई थियो।

देशलाई विकासको गतिमा अगाडि बढाउन, गरिवी र बेरोजगारी अन्त्य गर्न सरकारले विदेश राष्ट्रहरुसंग अनुदान लिने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिए।

बाराको गढीमाई पछिको विश्वमै प्रसिद्ध रौतहटको सुन्दरपुरस्थित लागेको दोस्रो ठूलो गढीमाई मेलाको उद्घाटन गर्न पाउँदा र गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित भएको उनले बताए ।

पाँच वर्ष पछि लागेको गढीमाई मेलाको सफलताको शुभकामना उनले दिएका थिए। प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने यस गढीमाई मेला महोत्सव पाँच वर्षपछि यस वर्ष पनि लागेको छ। सुन्दरपुरमा मेला मङसिर २६ गतेसम्म लाग्ने छ।

मेलामा मङसिर २० गते दिउँसो भारतीय भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउँदैछन् ।

मेला उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना,नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादव,मधेश प्रदेशका अर्थमन्त्री सुनिल भन्ने जितेन्द्र कुमार यादव, प्रदेश सांसद शेख फूलबाबु,गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव,माधव नारायण नगरपालिकाका मेयर बैजनाथप्रसाद यादव,गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds