सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकामा नगर अधिवेशनको तयारीमा यहाँ क्रियाशील तीन दल जुटेका छन्।
नेकपा एमालेले पौष मसान्तभित्रै नगर अधिवेशन गर्ने भएकोे छ। अधिवेशनको मिति तय भइ नसकेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख समेत रहेका एमाले नगर अध्यक्ष भोलाप्रसाद अधिकारीले जानकारी दिए।
जीतपुरसिमरा उपमहानगरपालिकाको नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्रले अधिवेशनको मिति तय गरिसकेको छ। उसले आगामी माघ १६ गतेका लागि नगर अधिवेशनको मिति तय गरेको माओबादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले जानकारी दिएका छन्।
नगर अधिवेशनको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री एवं माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएकाले निर्धारित मितिमा १/२ दिन हेरफेर पनि हुन सक्ने बरालले जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी माघ ५ गतेका लागि जीतपुरसिमरा नगर अधिवेशनको मिति तय गरेको छ।
नगर अधिवेशनलाई शक्ति प्रदर्शनको रुपमा समेत प्रस्तुत गर्नेछ। अधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका शिर्ष नेता अधिवेशनमा सहभागिहुने गरी नगर अधिवेशनको तयारी भइरहेको राप्रपाजीतपुरसिमराका नेता सुरज लम्सालले जानकारी दिएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका पूर्व केन्द्रिय सदस्य समेत रहेका लम्सालका अनुसार राप्रपाको जीतपुरसिमरा नगर अधिवेशनलाई पार्टी अध्यक्ष लिङदेन सहित केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, खुश्वु ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सिमरा बजारमा रहेको वडा नम्बर २ को प्राङ्गणमा बृहत सभा सहित नगर अधिवेशनको उद्घाटन हु्ने कार्यक्रम निर्धारण भइसकेको उनले जनाए।
राप्रपामा सर्वसम्मत नेतृत्वको प्रयास राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वकालागि एकजना मात्रै आकाँक्षीको नाम आएको छ। हाललाई सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको छ। राप्रपामा प्रवेश गरेका महेश खरेललाई स्थानीय नेताहरुले नगर अध्यक्षकै रुपमा अघि सार्ने भएका छन्। खरेललाई पार्टीमा स्वागत गरेकाले नेतृत्वमा अरुले दाबीनगर्ने राप्रपा जीतपुरसिमराका एक नेताले बताए।
जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहाका खरेल यूवा पुस्ता माझ लोकप्रीय रहेकाछन्। लामो समय वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका खरेलले जीतपुरसिमरामै बसेर फरक राजनीति गर्नुपर्ने बहस गरिरहेका छन् । राप्रपा नगर कमिटी अध्यक्ष माधव त्रिपाठीले यूवालाई नेतृत्वमा अघि सार्ने चाहना अनुसारनै खरेललाई राप्रपामा स्वागत गरेका थिए ।
माओबादी केन्द्रमा पाँच जनाको दौडधुप जीतपुरसिमरा नगर कमिटीको नेतृत्व गर्नका लागि माओबादी केन्द्रमा आकांक्षीहरु देखिएका छन्। यस पार्टीमा पाँच जना आकाँक्षीको दौडधुप देखिएको छ। अघिल्लो अधिवेशनमा प्रेम बरालसंग पराजित भएका धर्मबहादुर श्रेष्ठ यसपटक पनि अध्यक्ष बन्ने दौडधुपमा लागेका छन् ।
जीतपुरसिमरा १ का श्रेष्ठ घरजग्गा व्यवसायी समेत हुन। माओबादी केन्द्रको नगर अध्यक्ष बन्ने दौडमा सुर्य नेपालप्रा.लि.मा कार्यरत मजदुर नेता बेनीप्रसाद तिमल्सिना रहेका छन्। तिमल्सिना जीतपुरसिमरा १५ का स्थायी बासीन्दा हुन्। पार्टी निकट मजदुर संगठनको केन्द्रिय नेतृत्व समेत गरिसकेका तिमिल्सिना स्थानीयकार्यकर्ता माझपनि लोकप्रीय समेत रहेका छन्।
माओबादी केन्द्रको नगर अध्यक्ष बन्ने दौडमा जीतपुरसिमरा १४ का भरत भण्डारी समेत रहेका छन्। उनी स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा १४ को वडाध्यक्षमा पराजित भएका थिए ।चुनाबमा पराजय व्योहोरे पछि जीतपुरसिमरा उपमहानगरका मेयर राजन पौडेलले राजनीतिक सल्लाहकारका रुपमानियुक्त गरेर उनलाई राजनीतिक स्पेस दिएकाले उनलाई मेयर निकट उम्मेदवारका रुपमा हेरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको अघिल्लो कार्यपालिकामा सदस्यका रुपमा काम गरेकी शोभा कार्की माओबादीको नगर अध्यक्षका रुपमा दाबेदारी प्रस्तुत गरेकी छन्। २०७९ को स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा २ को वडा सदस्यमा पराजित कार्की डेढ दशक अघिदेखि निरन्तर राजनीतिमा कृयाशिल महिला हुन् । पार्टी निकट महिला संगठनको जिल्ला तहमा रहेर काम गरिसकेकी कार्की जीतपुरसिमरा उपमहानगरमा लोकप्रीय एवं अनुभवी महिला नेतृहुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व वडाध्यक्ष मोहित चौधरीले पनि नगर कमिटीको अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन्। जीतपुरसिमरा ५ बक्ुलीयाका चौधरी २०७९ को निर्वाचनमा भने वडाध्यक्षमा पराजित भएका थिए ।
एमालेमा आकाँक्षी धेरै,प्रतिनिधि चयनबाँकी नेकपा एमालेको नेतृत्व चयनकालागि आसन्न नगर अधिवेशनबाट अध्यक्ष बन्ने दौडमा यूवाआकाँक्षी बिच प्रतिष्पर्धा हुने सम्भावना छ।निर्वाचन प्रकृया र पार्टी सदस्यता प्रमाणीकरण बाँकी नै भएकाले अहिलेनै यसो हुन्छ भन्न सक्ने अवस्था नरहेको एमाले नेता मनोज पौडेलले जानकारी दिए ।
एमाले मधेश प्रदेशका सचिब समेत रहेका पौडेलका अनुसार पार्टीको नगर अधिवेशनको तयारी स्थानीय नेतृत्वले गरिरहेको भएपनि सदस्यताको टुङ्गो लाग्न बाँकी नै छ। जस्को कारण निर्धारित मितिभित्र अधिवेशन सम्पन्न हुने सम्भावना न्युन छ ।


