मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु

रञ्जन यादव
147 पाठक संख्या

जीतपुर : बाराको हरपुरमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२४ हरपुर पुल नजिकै उक्त दुर्घटना भएको हो ।

ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कलैया उपमहानगरपालिका वडा नं.१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी ब्योधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्याक्टर तीव्र गतिमा रहेको र अनियन्त्रित भएर मोटरसाइकललाई ठक्कर दिएको अनुमान गरिएको छ ।

घटनापछि स्थानीयवासीले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

Leave a review