कलैया : बारा प्रहरीले लागू औषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरी कारवाहीको सिलसिलामा सोमबार ईकाइ प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका लागू औषध मुद्दामा बरदात पश्चात फरार रहेका प्रतिवादीलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।
प्रहरीले लागू औषध मुद्दामा अदालतबाट १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पाएका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बस्ने अन्दाजी २५ वर्षीय बुद्ध तामाङलाई पक्राउ गरेको छ।
तामाङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।


