बारामा सुधार केन्द्रमै कुटपिट गरि युवकको हत्या भएको दस दिन बित्यो,संचालक अझै फरार

राम मण्डल
663 पाठक संख्या

बिरगंज । बाराको कलैया उप महानगरपालिका-१ मा रहेको नव जन्म पुनःस्थापना केन्द्रमा ३७ वर्षीय युवक प्रदिप प्रसाद मण्डलको कुटपिट गरि हत्या भएको दस दिन बित्दा पनि पुनःस्थापना केन्द्रका संचालक पक्राउ परेका छैनन् ।

सुधार केन्द्रमै विवाद हुँदा गत फाल्गुन २ गते राती सोही उप महानगरपालिका-९ रामपुर टोल बस्ने मण्डललाई सुधार केन्द्रमा रहेकाहरु तथा कर्मचारीहरू समेत मिलि मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिट पछि उपचारको लागि भनि उनीहरुले कलैया सिटी अस्पताल कलैयामा लगेको र थप उपचारको लागि प्रादेशिक अस्पतालमा लगे पश्चात चिकित्सकले मण्डललाई मृत घोषणा गरेका थिए ।

हत्याको अभियोगमा कुटपिटमा संलग्न रहेका सात जनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियोे ।तर, सुधार केन्द्रका संचालक भने अझै पनि कानुनी दायरामा आउन सकेका छैनन ।केन्द्रका संचालक साहेब मन्सुर अहिले घटना भएको दस दिन बित्दा पनि पक्राउ परेका छैन्न ।

माघ १५ गते मण्डललाई उनका परिवारजनले सुधार केन्द्रमा भर्ना गरेका थिए । सुधार केन्द्रमै रहेकाहरुले कुटपिट गरि हत्या गरिएको सिसिटिभीमा समेत भिडियो कैद भएको थियोे ।घटना भएपछि मृतकका परिवारजनले बारा प्रहरीमा नौ जना बिरुद्ध किटानी जाहेरी दिएका छन् ।

सो मध्ये सात जना कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय सरफराज मन्सुर,२९ वर्षीय तमन्ना अली,वडा नम्बर ४ बस्ने २२ वर्षीय निरज सरार्फ,बडा नम्बर ६ बस्ने २० वर्षीय राहुल भन्ने महमद आशु मिया शेख,वडा नम्बर १ बस्ने २४ वर्षीय अरूण सरार्फ,१९ वर्षीय सागर गुप्‍ता र वडा नम्बर २ बस्ने २१ वर्षीय  प्रमेश्वर साहलाई पक्राउ गरि प्रहरीले ज्यान सम्बन्धि कसुरमा अनुसन्धान अघि बढाएको छ ।

तर केन्द्रका संचालक मन्सुर र अन्य दुई जना गरि तीन जना अझै फरार रहेका छन ।फरार रहेका संचालकसहित तिनै जनाको खोजी कार्य भइरहेको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

फरार रहेका हरुको खोजी तथा घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

घटना पछि मण्डलका परिवार र स्थानीयले सन्चालक मन्सुरलाई पनि पक्राउ गर्न माग गर्दै कलैयामा विरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

Leave a review

This will close in 0 seconds