कलैयाका नगर प्रहरी किन बन्छन् बारम्बार उग्र? भर्ना प्रक्रियामै प्रश्नचिह्न, तालिमविहीन दस्ताले बजारमा मच्चाउँछ आतंक

साझेदारी डेलि
182 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिकामा बजार व्यवस्थापनका नाममा नगर प्रहरीले व्यवसायीमाथि गर्ने अमानवीय व्यवहारको शृङ्खला रोकिनुको साटो झन् बढ्दै गएको छ।

गत मंगलबार व्यवसायीलाई पसलभित्रै छिरेर लछारपछार गरी कुटपिट गरिएको घटनाले नगर प्रहरीको कार्यशैलीमा मात्र होइन, उनीहरूको भर्ना प्रक्रिया र व्यवसायिकतामाथि पनि गम्भीर प्रश्न उठाएको छ। कलैया उपमहानगरपालिकामा हाल ३१ जना नगर प्रहरी कार्यरत छन्।

तर, चकित पार्ने तथ्य के छ भने यीमध्ये जम्मा ३ जना मात्र स्थायी दरबन्दीका कर्मचारी हुन्। बाँकी सबैलाई करार र दैनिक ज्यालादारीमा भर्ना गरिएको छ। छिमेकी जितपुर सिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना गर्दा लिखित परीक्षा, शारीरिक तन्दुरुस्ती र नेपाल प्रहरी वा सशस्त्र प्रहरीमार्फत हप्तौंसम्मको तालिम दिएर मात्र छनोट गर्ने गरेको छ।

यता कलैया उपमहानगरले भने कुनै सार्वजनिक सूचना जारी नगरी र आवश्यक तालिम समेत नदिई राजनीतिक पहुँचका आधारमा करारमा कर्मचारी भर्ना गर्ने गरेको आरोप छ। सुरक्षा निकायको समन्वयमा दिनुपर्ने आधारभूत अनुशासन र मानव अधिकारसम्बन्धी तालिम नहुँदा, नगर प्रहरीहरू बजारमा संयमित हुनुको साटो उग्र शैलीमा प्रस्तुत हुने गरेका छन्।

तालिम र अनुशासनको कमीकै परिणाम मंगलबार कलैया बजारमा देखियो। नगर प्रहरीको एउटा समूहले व्यवसायीलाई पसलभित्रैबाट घिसार्दै बाहिर निकालेर निर्घात कुटपिट गर्‍यो। आर्थिक मन्दीले पिरोलिएका व्यवसायीको मनोबल उठाउनुको साटो उल्टै शारीरिक चोट पुर्‍याएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।

आक्रोशित भीडबाट नगर प्रहरीलाई बचाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। सुरक्षाकर्मीले नै नगर प्रहरीलाई आफ्नो गाडीमा हालेर सुरक्षित स्थानमा लैजानु पर्ने स्थिति आएको थियो । जिल्ला प्रहरी कार्यालय बाराले कलैया बजारबाट नगर प्रहरीहरूलाई नियन्त्रणमा लिई राति ११ बजेसम्म प्रहरी परिसरमा राखेको र त्यसपछि छोडिएको स्रोतले जनाएको छ।

व्यवस्थित छनोट प्रक्रिया र तालिम दिएर नगर प्रहरी भर्ना गरिएको भए उनीहरूले जनतासँग कसरी व्यवहार गर्ने भन्ने बुझ्ने थिए। तर यहाँ त बिना तालिमका मान्छेलाई बर्दी भिराइएको छ, जसले गर्दा बजारमा सधैँ झडपको स्थिति सिर्जना हुन्छ। महँगी र मन्दीको मारमा परेका व्यवसायी र नगर प्रहरी बीच बारम्बार यो व्यवहारले कलैया उपमहानगरपालिकाको नेतृत्वमाथि पनि नैतिक प्रश्न खडा गरेको छ ।

यता नगर प्रहरीले बुधबार सभाहलमा पत्रकार सम्मेलन गर्दै बजार व्यवस्थापनका क्रममा आफूहरूमाथि आक्रमण भएको बताएका छन् । नगर प्रहरीका अनुसार दुई टोली बनाएर खटिँदा एउटा टोली किसान पसल क्षेत्रमा र अर्को टोली तरकारी बजारमा पुगेको थियो। सो क्रममा दुई वटा तरकारीको टोकरी र एउटा खुर्सानीको बोरा नियन्त्रणमा लिँदा योजनाबद्ध रूपमा व्यापारीहरूले आक्रमण गरी हातपात गरेको नगर प्रहरीले दाबी गरेका छन् ।

नगर प्रहरीले फुटपाथ अतिक्रमण नगर्न पूर्वसूचना दिइएको पनि स्पष्ट पारेको छ। आफूहरू झैझगडाको उद्देश्यले नभई कर्तव्य पालनाका लागि गएको र घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Leave a review