नगर निर्माण व्यवसायी संघ जीतपुर सिमराको भयो दोश्रो वार्षिक साधारण सभा

साझेदारी दैनिक
462 पाठक संख्या

सिमरा : जीतपुर सिमरा उपमहानगरपालिकाभित्र रहेका निर्माण व्यवसायीहरुको छाता संगठनका रुपमा दुई वर्ष अघि स्थापना भएको नगर निर्माण व्यवसायी संघ जीतपुर सिमराको दोश्रो बार्षिक साधारण सभा शनिवार सिमरामा भएको छ।

सभाको अवसरमा सिमरा विजनेश सेन्टरमा संघको कार्यालय सञ्चालनमा ल्याईएको छ।

बारा क्षेत्रनम्बर ४(१) बाट निर्वाचित मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले संघको कार्यालय भवनको उद्घाटन गरेका हुन्। प्रदेश सभा सदस्य चौधरीकै प्रमुख आतिथ्यतामा सिमराको होटल श्रेष्ठ रेसीडेन्सीमा सम्पन्न साधारण सभाले आर्थिक तथा संगठनात्मक प्रतिवेदन समेत पारित गरेको छ।

कार्यक्रममा संघका अध्यक्ष दिपककुमार ठाकुरले संगठनात्मक प्रतिवेदन पेश गरे। कोषाध्यक्ष रामकुमार अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले निर्माण व्यवसायीको समस्यालाई आफुले नजिकबाट बुझेको जनाए। भुक्तानी लगायतमा भोग्नुपर्ने समस्या समाधानकालागि सम्बन्धित ठाउँहरुमा आवाज उठाउने उनले प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकाको विकास निर्माणमा निर्माण व्यवसायीको अतुलनीय योगदान रहेको उनले जनाए। उपमहानगरको प्रशासनिक समस्याका कारण समस्यामा परेका व्यवसायीको हकमा आपूmले उपल्लो तहमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले निर्माण व्यवसायीले झेलिरहेका समस्याका विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समितिका उपाध्यक्ष युवराज न्यौपाने, एलाईट आरएमसीका सञ्चालक शेखर भण्डारी लगायतले मन्तब्य व्यक्त गरेका थिए।

नगर निर्माण व्यवसायी संघका अध्यक्ष दिपककुमार ठाकुरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराकीप्रहरी नायब उपरीक्षक शुभद्रा लामा,चेम्बर अफ कमर्स जीतपुर सिमराका अध्यक्ष मनलाल श्रेष्ठ,निर्माण व्यवसायी संघ बाराका सहसचिब सतिश पटेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो।

Leave a review