प्रादेशिक अस्पताल कलैयामा चिकित्सकहरुको आन्दोलन,ओपिडी सेवा ठप्प,सेवाग्राही मार्कामा

साझेदारी दैनिक
608 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित प्रादेशिक अस्पताल कलैयामा पाँच महिना देखि तलब नपाएपछि चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन्।

छात्रवृत्ति करारमा कार्यरत रहेका विशेषज्ञ चिकित्सक,मेडिकल तथा नर्सिङ अधिकृत र फार्मेसी अधिकृतहरुले ५ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनरत भएका हुन् ।

जसले गर्दा बिहीबार यहाँ ओपिडी सेवा ठप्प भएको छ। सेवाग्राहीलाई मार्का भएको छ।

बारागढी गाउँपालिकाको खोपवा देखि कलैया अस्पतालमा उपचारको लागि आएका जलिलराय भाट आफु निराश भएर फर्कन बाध्य भएको जनाएका छन्।

यस्तै सोही ठाउँका रमेश साह निजि क्लिनिकमा उपचारको लागि गएका छन्। कलैया अस्पतालमा आएका अधिकांश विरामी आन्दोलनको कारण पीडित बनेका हुन्।

नेपाल सरकारको छात्रवृति करार अन्तर्गत प्रादेशिक अस्पताल कलैयामा डाक्टर रमेश कुशवाहा,डाक्टर रिचा मण्डल,डाक्टर आलोक यादव,डाक्टर सुरज साह,डाक्टर तबरेज आलम,डाक्टर आकाश जैसवाल,डाक्टर अवनिश यादव,डाक्टर राजा जैसवाल,सोनि यादव,बिनिता दास,जाया यादव,सृजना कुशवाहा र चन्देश्वर जैसवाल गरी १३ जना कार्यरत चिकित्सकहरुले तलब पाएका छैनन् ।

यसैविच नेपाल चिकित्सक संघ मधेश प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष डा.निरजकुमार सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न उनले प्रदेश सरकारसंग माग गरेका छन्।

सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल चिकित्सक संघ मधेश प्रदेश द्वारा मधेश प्रदेशको श्रीमान मुख्यमन्त्रीज्यूलाइ ध्यानाकर्षण पत्र २०८१/१२/१७ गते दिएको उल्लेद गरेका छन्।

जसमा मधेस प्रदेशको प्रादेशिक अस्पताल,शिक्षण संस्थान र स्थानीय तह अन्तर्गतका अस्पतालहरुमा खटाइएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब भुक्तानी नभएको जनाइएको छ।

यस विषयप्रति मधेश प्रदेश सरकारलाई ७२ घन्टाको अल्टिमेटम दिएको थियो जुन अल्टिमेटमको समय सीमा सकिएको विज्ञप्तिमा जनाइएको छ।

मधेश प्रदेश सरकारले गम्भीरतापूर्वक नलिएको हुदो मधेश प्रदेश स्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका चिकित्सकीय सेवाहरु मिति २०८१ चैत २१ र २२ गतेका दिन बन्द रहने विज्ञप्तिमा लेखिएको छ।

थप आन्दोलनका कार्यक्रमहरु २०८१ चैत २२ गते थप विज्ञप्ति मार्फत जारी गरिने छ ।

Leave a review