बँदेल मार्न थापेको विधुतीय पासोमा परी महिलाको मृत्यु,गाडिएको अवस्थामा शव फेला,पासो थाप्ने दुई जना पक्राउ

साझेदारी दैनिक
547 पाठक संख्या

रौतहट : करण कुमार मिश्र / जंगली बँदेललाई मार्न थापेको पासोमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ।

रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर १ बलेरी गाँउमा सो घटना भएको हो। स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर एक साता अगाडी नै बलेरीका स्थानीय ४५ वर्षिया श्रीमति फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो। पासो थाप्ने स्थानीयले मृतकको शव बेपत्ता पारेका थिए।

बँदेल मार्न थापेको धरापमा महिला मृत अवस्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट लगेका थिए। उनीहरुले महिलाको शवलाई ४ किलोमिटर उत्तर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर शव गाडेका थिए।

जंगल छेउमा बनाएको गोठबाट फर्कदै गरेकी फुलमतिया देवीको विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएको हो। यसपछि दुवै जनाले महिलाको शव जंगलमा गाडेका थिए।

गत चैत्र १४ गतेका दिनदेखि मृतक महिला बेपत्ता भएपनि प्रहरीमा भने चैत्र १९ गते मात्रै जानकारी आएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गरेको हो। अनुसन्धानको क्रममा मृतक महिलाको शव बिहीवार अपरान्ह १९ गते गाडिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

प्रहरीले महिलाको खोजतलास गर्ने क्रममा उनको घर नजिकै मकै बारीमा महिलाको चप्पल र बिजुलीको तारफेला परेपछि दुवैलाई पक्राउ गरेको उपरीक्षक घिमिरेले बताए।

पक्राउ परेका दुवैलाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यान तर्फ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

Leave a review

This will close in 0 seconds