जिल्ला प्रशासन कार्यालय रौतहटमा लागु भयो विद्युतीय टोकन प्रणाली

Om Prakash Yadav
375 पाठक संख्या

रौतहट । सेवाग्राहीको भिड बढेपछि व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय रौतहटमा पहिलोपटक टोकन प्रणाली लागू भएको छ।

सेवाग्राहीहरुको सहजताका लागि विद्युतीय टोकन प्रणालीको सेवा कार्यालयमा लागू गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले एक कार्यक्रमविच सोमबार टोकन प्रणाली सिस्टमको उद्घाटन गरेका छन्।
उद्घाटनसंगै टोकन प्रणाली मार्फत सेवा प्रवाह सुरु भएको हो।

सेवाग्राहीलाई सहज,सरल र छिटोछरितो सेवा प्रवाह गर्न र भीडभाड हुन नदिन सेवा शुरु गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

जिल्ला प्रशासन कार्यालय गौरबाट आजदेखि नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने,राहदानी बनाउने,राष्ट्रिय परिचयपत्र लगायत कामकाज टोकन प्रणाली मार्फत सुरु गरिएको हो।

सेवाग्राहीको घुइँचोले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण भन्दा बाहिर गएर हो–हल्ला हुने र कहिलेकाहीँ बिचौलिया समेतले सेवाग्राहीलाई ठगी गर्ने घटना बढ्दै गएपछि यहाँ यो प्रणाली लागु गरिएको हो।

सेवाग्राहीलाई चर्को घाममा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट यो प्रणाली लागु भएसंगै अन्त्य भएको छ।

सेवाग्राहीलाई विभिन्न फाँटको ढोका र झ्यालमा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता थियो। एकदिनमा हुने कामको लागि दुई दिन तीनदिनसम्म समय लाग्ने गरेको थियो।

हो – हल्ला र विभिन्न विवादले पालो आउनै गाह्रो हुने गरेकोमा टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा अब सहज हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

सेवाग्राहीले अब लाइनमा नबसी सिधै टोकन लिने र कतै बसेर आफ्नो पालो कुर्नुपर्ने हुन्छ। पालो आएपछि बिना भीडभाड र बिना कुनै झण्झट सहज तरिकाले नै काम गराउन पाइने भएको छ।

जस्तोसुकै भीडभाडमा पनि सेवाग्राहीले पालैपालो सेवा पाउने, अनावश्यक रूपमा लाइनमा बस्नु नपर्ने र कर्मचारीले पनि सहज रूपमा सेवा दिने भएका छन्।

Leave a review