रौतहट : करण कुमार मिश्र /रौतहटको गरुडा नगरपालिकाले छात्रालाई विद्यालय शिक्षामा आकर्षण बढाउन साइकल वितरण कार्य शुरु गरेको छ।
गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले साइकल वितरण गरेका हुन्। गरुडा नगरपालिकाको वडा नं.–८ बसबिट्टी जिङ्गडियामा रहेको श्री रामचन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत २२ जना छात्रालाई साइकल प्रदान गरेका हुन्।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख जयसवालले छात्रालाई साइकल र स्कूल ब्याग बुधबार हस्तान्तरण गरेका छन्। विद्यालयको माग अनुसार विद्यार्थीहरूलाई बस्न डेस्क,बेञ्च पनि मेयर जयसवालले सो विद्यालयलाई उपलब्ध गराएका हुन्।
घरदेखि विद्यालयको दूरी टाढा भएको हुनाले विद्यार्थीहरुलाई आउनजान समस्या भोग्नु परेकोमा छात्राहरुको शैक्षिक यात्रालाई सहज बनाउन र नियमित उपस्थितिको सुनिश्चितताका लागि साइकल वितरण गरिएको उनले बताए। साइकल पाएपछी छात्राहरुलाई विद्यालयमा नियमित अध्ययन अध्यापन गर्न ठुलो सहयोग पुग्ने उनको विश्वास रहेको छ।
यस कार्यक्रम अन्तर्गत नगरभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित समुदायका छात्राहरुले क्रमशः साइकल पाउने उनले जानकारी दिए। साइकल वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत छात्राहरुले साइकल पाउँदा अत्यन्तै खुशी हुँदै नगर प्रमुख जयसवालको प्रसंशा एवं सराहना गरेका छन्।
शिक्षामा व्यापक सुधार ल्याउन आफूले नगरको प्रत्येक विद्यालय अनुगमन गरी आवश्यक पर्ने भौतिक संरचना निर्माणदेखि साइकल,ब्याग,डेस्क,बेन्च लगाएतका सामान वितरण गरिरहेको उनले बताए। शिक्षकको आवश्यकता भएको विद्यालयमा शिक्षक समेत पठाउने गरेको बताउदै विद्यार्थीको पठनपाठनमा कुनै समस्या आउन नदिन आफू लागि परेको बताए ।
त्यस्तै शिक्षा शाखाका सह–संयोजक शेख चाँद अलीले छात्राहरुको पठनपाठनमा सहजता ल्याउन र विद्यालयसम्मको पहुँच सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको जानकारी दिए। विद्यालय टाढा भएकाले कतिपय छात्राहरुले अध्ययन बीचमै छाड्ने अवस्था अन्त्य भई नियमित उपस्थिति सुनिश्चित हुने उनको विश्वास छ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी शंकर,नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य शेख करिमुल्लाह,समाजसेवी श्यामसुन्दर सहनी,प्रधानाध्यापक,जङ्गबहादुर ठाकुर, विद्यालयका शिक्षक–शिक्षिका,स्थानीय लगाएत सञ्चारकर्मीको उपस्थिति रहेको थियो।


