Sajhedari Daily
Latest News from Nepal

के के ग¥यो सुवर्ण गापले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणमा

Top Aside Banner

बाराको सुवर्ण गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम गरेको जानकारी गराएको छ ।

गाउँपलिकाले कोरोना भाईरस संक्रमण रोकथामको लागि गरिएको बन्दाबन्दी(लकडाउन) का कारण गाउँपालिकामा प्रभावति परिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाका लागि प्रदेश नम्बर २ सरकारबाट प्राप्त रकम रु १० लाख र प्रकोप व्यवस्थापन कोष स्थापना गरि गाँउपालिकाको विभिन्न खर्च शिर्षकबाट जम्मा रु ७२ लाख रकम बरावरको दुई चरणमा राहत वितरण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले साझेदारी दैनिकलाई जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट प्राप्त रकम मध्येबाट गाँउपालिकाको ८ वटै वडाले रु १ लाख २५ हजारका दरले वडा समिति लगायत वडामा सर्वदलिय समिति गठन गरी प्रथम चरणमा कुल १ हजार ८ सय ३० घरधुरीलाई राहत वितरण गरिएको प्रमुख प्रशाकीय अधिकृत श्रीवास्तवले बताउनुभयो ।

यस्तै गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको रकमबाट दोस्रो चरणमा गाउँपालिकाका ८ वटै वडाहरुका करिब ५ हजार ६ सय ३५ घरधुरीलाई राहत वितरण गरिएको गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताउनुभयो ।
गाउँपालिकाले प्रत्येक प्रभावित परिवारलाई १५ किलो सोना मंसुली चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र ३ किलो आलु वितरण गरिएको गाउपालिकाका अध्यक्ष यादवले बताउनुभयो ।

गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणको लागि पालिका स्तरबाट विभिन्न कार्यक्रमहरु समेत गरेको जानकारी गराएको छ । गाउँपालिकाले सबै वडाका सबै घर परिवारमा आवश्यक संख्यामा सावुन र मास्क वितरण गरेको अध्यक्ष यादवले बताउनुभयो ।

विभिन्न देशवाट गाउँपालिकामा आएका करिब २७ जनालाई स्थानीय विद्यालयमा क्वारेन्टाईन स्थापना गरि राखि स्वास्थ्य परिक्षण गराएको र विभिन्न माध्यमबाट कोरोना भाईरस वारे सचेतना गराएको पनि प्रमुख प्रशाकीय अधिकृत श्रीवास्तवले बताउनुभयो ।

सुवर्ण गाँउपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी र पदाधिकारीहरुको कार्य संचालनको क्रममा कोरोनाबाट संक्रमित भई मृत्यु भएमा क्षतिपूर्ति स्वरुप रु २५ लाख वरावरको विमा गाँउपालिकाले आफनो कोषबाट संचालन व्यवस्था गर्ने निर्णय भएको प्रशासकीय अधिकृत श्रीवास्तवले साझेदारी दैनिकलाई जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिकाको सोमवार सम्पन्न कार्यपालिका वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले गरेको राहत वितरण सम्बन्धी प्रतिवेदन पास गरेको छ । बैठकले राहत वितरणका लागि खरिद गरिएका खाद्यान्न सप्लायर्सहरुलाई भुक्तानी दिने निणर्य भएको एक कार्यपालिका सदस्यले साझेदारी दैनिकलाई जानकारी गराएका छन ।