नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो, अतः यसलाई रक्षा गर्नु आवस्यक छ: कृष्ण यादव

Om Prakash Yadav
429 पाठक संख्या

रौतहट ।  नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको पूर्व मन्त्री एवं नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवले बताएका छन् । सबै नेपालीको हक अधिकार सुनिश्चित गरी बहुमतबाट निर्माण गरिएको २०७२ को संविधान विश्वकै उत्कृष्ट संविधान रहेकोले यसलाई रक्षा गर्नु आवस्यक रहेको सभापति यादवले बताए।

संविधान दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटले आज सदरमुकाम गौर स्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका मधेश प्रदेश सभापति यादवले यस्तो बताएका हुन्। मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले सार्वभौमसत्ता सम्पन्न संविधानले सवै पक्षको न्याय र अधिकारलाई समेटेको बताए ।

संविधान निर्माणसँगै संविधान कार्यान्वयनमा जोड दिँदै जनताको प्रत्यक्ष जीवन शैलीसँग जोडिएका हक अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान सफल भएको समेत उनले बताए । नेपाली इतिहासमा निर्माण गरिएका ७ वटा संविधान मध्येको उत्कृष्ट संविधानले जनतालाई विभिन्न हक र अधिकार दिएर सभ्य समाज निर्माण गर्न समेत सफल भएको उनले बताए ।

संविधान आफैंमा न्याय र अधिकारको हतियार भएको भन्दै उनले संविधानलाई लिएर असन्तुष्टिको लडाई गर्नु भन्दा पनि कसरी कार्यन्वयनमा सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा चासो राख्नु आजको आवस्यकता भएको बताए । संसारका कुनै पनि संविधानले नदिएको लाभ नेपालको संविधानले दिन सक्ने भन्दै नेता यादवले यसभित्र नै मुलुक र नेपाली जनताको उज्जवल भविष्य भएको दाबी गरे ।

जेनजी आन्दोलनको क्रममा कांग्रेसका सभापति शेर बहादुर देउवा र देउवाकी श्रीमती आरजु राणा देउवामाथि कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुवैजनालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । संविधान निर्माण र प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएका पार्टी सभापति शेर बहादुर देउवामाथि हमला र अमानवीय व्यवहार गर्नु घोर निन्दनीय कार्य भएको नेता कृष्ण प्रसाद यादवले बताए।

नेता यादवले अघि भने, ‘ शेर बहादुर देउवा देशमा प्रजातन्त्र स्थापनाका लागि जेलनेल भोगेको र कठोर संघर्ष गरेका ब्यक्ति हुन्, उनकै योगदानका कारण आज देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको हो, । तर उनै व्यक्तिलाई आज कुटपिट गर्नु दुर्भाग्य भएको उनले बताए ।’

एमाले र कांग्रेस नेतृत्वको सरकारले देशलाई विकासको गतिमा अगाडि बढाउदा आत्तिएका केही व्यक्तिहरूले जेनजी आन्दोलनमा घुसपैठ गराई सिंहदरबार, सांसद भवन, न्यायलय, सरकारी कार्यालय, नेताको घर, दलहरुको पार्टी कार्यालय र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरी अर्बौं खर्बौको क्षति पुर्याएको समेत उनले बताए।

Leave a review

This will close in 0 seconds