निजगढ : बाराको बारागढी गाउँपालिका वडा नं. ३ खोपवास्थित सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नितनपुरबाट रुख कटान गरी लैजाँदै गरेको पाइएको छ ।
प्रहरीले उक्त ट्याक्टरका चालक वीरगंज महानगरपालिका वडा नं.९ बस्ने बर्ष ४५ का नन्दलाल महरा चमारलाई पक्राउ गरेको छ । गंजभवानिपुरबाट मलाही तर्फ जाँदै गरेको ज.१ त ८८५० नम्बरको ट्याक्टरलाई चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो। चेकजाँच गर्दा मसाला प्रजातिको काठ फेला परेपछि ट्याक्टरसहित काठ नियन्त्रणमा लिइएको थियो। बरामद काठको गालिया रु २ लाखमा स मिलले किनेको थियो ।
प्रहरीले उक्त ट्याक्टर र काठलाई थप अनुसन्धानका लागि कोल्हवी सब डिभिजन वन कार्यालयमा पठाएको छ । पछि खुल्न आएको विवरण अनुसार उक्त काठ जीतपुरसिमरा–१० नितनपुरस्थित श्री ने.रा.मा.वि. नितनपुरको विद्यालय क्षेत्रको जग्गामा प्लान इन्टरनेश्नलले रोपेका ३० वटा रुखहरू काटेर निकालिएको हो।
ती रुखहरू कलैयाको एक फर्निचर उद्योगलाई २ लाख रुपैयाँमा बिक्री गरिएको वडा नं. १० का वडा अध्यक्ष संजय पटेलले जानकारी दिएका छन्। अध्यक्ष पटेलका अनुसार विद्यालयको पछाडिको जग्गामा रहेका रुख कटानी गर्ने सिफारिस उनले नै गरेका थिए।
वडा अध्यक्ष पटेलले श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालय नितनपुरको कम्पाउन्ड भित्र रहेको मसाला,सिरीस,बकायन र सिमलको रुख बिद्यालयको सिफारिस अनुसार सो रुख ओम नमः शिवालय स मिल कलैयालाई बिक्रि गरिएको ब्यहोरा सिफारिसमा लेखेका छन् । बरामद काठ करिब ९० क्युफिटको रहेको ईलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ ।
उनले भने, “सार्वजनिक जग्गाका रुख काट्न नमिल्ने कानुनी जानकारी नभएकाले मैले सिफारिस गरेको हुँ।” उनका अनुसार, रुख बिक्रीबाट प्राप्त आम्दानीमध्ये ६० प्रतिशत विद्यालयलाई र ४० प्रतिशत त्यसको संरक्षण गर्ने समितिलाई दिने सहमति भएको थियो।
तर उक्त काठ नियन्त्रणमा लिएपछि सार्वजनिक विद्यालय क्षेत्रबाट रुख कटानी गरि अवैध रूपमा काठ ढुवानी गरिएको पुष्टि भएको छ।


