निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

रासस
306 पाठक संख्या

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुङ्ग्याउने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले ती विमानस्थलमा यात्रु सङ्ख्या वृद्धिका लागि विभिन्न योजना अघि बढाइएको स्पष्ट पार्नुभयो । “कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रुको सङ्ख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्”, उहाँले भन्नुभयो, “यात्रु सङ्ख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षणलगायत सुविधा सो क्षेत्रमा पुर्‍याउनुपर्छ ।”

नेपाल एयरलाइन्सको छवटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी काम गर्न निर्देशन दिइएको बताउनुभयो । प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना जहाज चलाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

आगामी दशकलाई पर्यटन प्राथमिकता दशक घोषणा गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री पाण्डेले सङ्घीय मन्त्रालय र निकाय, तीनै तहका सरकार निजी क्षेत्रलाईसँगै राखेर पर्यटन संवाद कार्यक्रम गरिएको बताउनुभयो । नीतिगत तथा कानुनी सुधारलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न विभिन्न योजना अघि सारिएको बताउनुभयो । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको प्रयास भइरहेको जानकारी दिनुभयो ।

छलफलमा सांसदहरुले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी टुङ्गो लगाउन, पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको योजना बनाउन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाउनुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड बनाउन सुझाव दिनुभयो ।

Leave a review