बारामा असार यता बाघले तीन जनाको लियो ज्यान

साझेदारी दैनिक
285 पाठक संख्या
सांकेतिक तस्वीर

कलैया : बाघको आक्रमणबाट बारामा फेरी एक पुरुषको ज्यान गएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं.४ स्थित प्रगतिशिल सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक पुरुषको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय छेवाङ्ग लामालाई बाघले आक्रमण गरेर ज्यान लिएको छ ।

अस्थायी प्रहरी पोष्ट औराहा,बारामा बाघले आक्रमण गरी मारेको भनि खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।

प्रहरी हवल्दार नविन काफ्लेको कमाण्डमा र तालुक इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको कमाण्डमा मुचुल्का सहितको टोली खटि गएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

लामा आईतबार बिहान करिब ७ बजे च्याउ टिप्न जंगलतर्फ जाने क्रममा उनलाई प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको स्थानीयहरुले बताएका छन । घाँस काट्न गएका अन्य स्थानीयहरूले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

बारा जिल्लामा यसअघि पनि अम्लेखगञ्ज क्षेत्रका तीन स्थानीयको ज्यान बाघको आक्रमणमै गइसकेको प्रहरीले जनाएको छ। बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको बन अधिकृत झाले बताए। दुई वटा हाती सौराहाबाट बाघको खोजीकोलागि आएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाघलाई डार्ट गर्नकोलागि पशु चिकित्सक सहितको टोली जङ्गल क्षेत्रमा परिचालन गरिसकिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।करिब १० बर्ष देखि जंगली जनावरको उद्धारकोलागि उद्धार टोलीको माग आएपनि मधेश प्रदेशको कुनै ठाउँमा पनि जंगली जनावर उद्धार टोली रहेको पाईदैन् ।

उद्धार टोलीकोलागि आफु लगायत जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिले पनि यस क्षेत्रमा उद्धारटोलीको माग गरिएपनि अहिलेसम्म सुनुवाई नभएको बरिष्ठ संरक्षण अधिकृत खतिवडाले बताए ।

यसअघि गत भदौ ११ गते आधाभार क्षेत्रमा घाँस काट्न गएका एक पुरुषको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मालाई बाघले आक्रमण गरी ज्यान दिएको थियो ।

यस्तै गत असार ४ गते बाराको अमलेखगञ्जस्थित चकरी जंगलमा बाघले खाएको जस्तो अवस्थामा एक जनाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मकवानपुर मनहरी गाउँपालिका निवासी अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर भुलनको शव फेला परेको थियो ।

Leave a review