सूर्य नेपाल मजदुर युनियनको ११ औँ अधिवेशन सुरु

साझेदारी डेलि
55 पाठक संख्या

जीतपुर । नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, सूर्य नेपाल प्रा.लि. सिमराको ११ औँ अधिवेशन उत्साहजनक वातावरणमा सुरु भएको छ। उद्योग क्षेत्रमा कार्यरत श्रमिकहरूको हक–अधिकार, सुरक्षा तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राखिएको अधिवेशनमा उल्लेख्य सहभागिता देखिएको छ।

अधिवेशनको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वर्तमान परिवेशमा ट्रेड युनियनहरूको भूमिका अझ सशक्त र अपरिहार्य बनेको बताए। उनले हालैको सरकारी गतिविधिले ट्रेड युनियन कमजोर पार्ने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरे। यस्तो अवस्थाको प्रतिवाद गर्न श्रमिकहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।

उनले आफ्ना अधिकारका लागि संघर्ष गर्दा उद्योग तथा संस्थाको हितलाई समेत ध्यानमा राख्दै जिम्मेवार र संयमित ढंगले अघि बढ्न श्रमिकलाई सुझाव दिए।

कार्यक्रममा युनियन अध्यक्ष रामपुकार पासवानले राजनीतिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै विगतका उपलब्धि, गतिविधि र चुनौतीहरूबारे जानकारी गराए। उनले युनियनलाई अझ पारदर्शी, सशक्त र श्रमिकमैत्री बनाउन सुधारका योजना अघि सारे।

अधिवेशनमा सहभागी श्रमिकहरूले सरकारले युनियन खारेज गर्ने निर्णय गरे गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्। उनीहरूले युनियनभित्रका कमजोरी सुधार्न सकिने भए पनि युनियन नै समाप्त गर्ने प्रयास श्रमिक हितविपरीत हुने बताएका छन्।

कार्यक्रममा विभिन्न श्रमिक नेताहरू, उद्योग प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो। वक्ताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित कार्य वातावरण तथा श्रमिक–नियोक्ता सम्बन्ध सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा अखिल नेपाल औद्योगिक मजदुर महासंघका महासचिव कृष्ण रेग्मी, अखिल नेपाल ट्रेड युनियन महासंघका सह–सचिव अर्जुन चिमरिया, प्रदेश अध्यक्ष केदार देव तथा केन्द्रीय अध्यक्ष बेनि प्रसाद तिमल्सिनाल गायतको सहभागिता रहेको थियो।

Leave a review