धनुषा : उत्कृष्ट कार्य गरेको भन्दै भदौ महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई उत्कृष्ट प्रहरी घोषित गरिएको छ।
प्रहरी निरीक्षक यादवले आफुले पाएको जिम्मेवारी उच्च व्यवसायिक कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छबिलाई नै उच्च राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको जनाउँदै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
उनले गरेको उत्कृष्ट कार्यले गर्दा आमजनमानसमा प्रहरी प्रतिको सकारात्मक सोच तथा विश्वसनीयतामा अभिबृद्धि गरेको हुँदा उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक यादवलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको प्रहरी उपरीक्षक तथा कार्यालय प्रमुख नरहरी रेग्मीले जनाएका हुन्। इलाका प्रहरी कार्यालय ढल्केवरमा दरबन्दी भई हाल सोही कार्यालयको प्रमुखको रूपमा उनी कार्यरत छन्।
यादवले भदौ ०६ गते अन्दाजी ०१ः४५ बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं.०६ स्थित मोबाईल पसलमा चोरी भएकोमा चोरी गर्ने मानिसहरुलाई खोज तलास गरेका थिए। चोरी भएका समानहरु मध्ये मोबाईल लगायतका सरसमानहरु बरामद गरी चोरी गर्ने ३ जना मानिसहरुलाई पक्राउ गरी अनुसन्धान गरी कानुनको दायारमा उनले ल्याएको जनाइएको छ।
देश व्यापी रूपमा भएको जेनजी युवा समूहको आन्दोलनको क्रममा आफ्नो कार्यालय तथा मातहतमा रहेका ६ वटा प्रहरी कार्यालयहरु समेतमा तोडफोड तथा आगजनी एवं कुनै पनि अप्रिय घटना हुन नदिई शान्ति सुरक्षा व्यवस्था मिलाई उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको हो।
भदौ ३१ गते जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. ०३ स्थित रहेको हनिफ मन्सुरीको भगवति फिक्स ईट्टा भट्ठामा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा विशेष सूचनाको आधारमा उक्त स्थानमा खटी गई चेकजाँच गर्दा उक्त ईट्टाको चाङको बिचमा त्रिपालले छोपि राखेको अवस्थामा १९ पोकामा ४७५ किलोग्राम (१ पोकामा २५ किलोग्रामको दरले रहेको) लागु औषध (गाँजा), मानिस र गाडि नं. प्रदेश ०३–०१–०२४ च ८३२५ समेत पक्राउ गरी आवश्यक कानुनी दायरामा उनले ल्याएका थिए।
युवा समूहको आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका कैदि थुनवाहरु मध्ये पाँच जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाउन उनले महत्वपूर्ण भूमिका उनले खेलेका हुन्।