रञ्जन यादब/
डिभिजन बन कार्यालय बाराले आज जैतापुर बन क्षेत्रबाट तीन राउन्ड गोलि फायर गरी एक जना काठ तस्करलाई पक्राउँ गरेको छ । पक्राउँ पर्नेमा करैयामाई गाउँपालिका वडा नं. ३ गलोपतीका ४० बर्षिय रामजन्म हजरा पासवान रहेका छन् ।
बिशेष सुराकीको आधारमा मधुबन र जैतापुरबाट खटिएको बन गस्ती टोलीले काठ तस्करहरुलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले साझेदारीलाई जानकारी दिनुभयो ।
गस्ती टोलीले हवाई फायर गरेपछि करिब ८ जनाको सख्यामा रहेको तस्करहरुको टोली फरार भएका छन् । घट्ना स्थलबाट गस्ती टोलीले २२ क्युफिट काठ ,पाँचवटा साईकल र एउटा बञ्चरो बरामद गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।
त्यस्तै डिभिजन बन कार्यालय बाराले हिजो १६ थान काठ बेवारिसे अवस्थामा बरामद गरेको छ ।
डिभिजन बन कार्यालय र सब डिभिजन बन कार्यालय तामागढीबाट खटिएको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ रघुनाथपुरबाट दुई थान आठ क्युफिटको काठ र वडा नं.१६ टाँगिया बस्तीबाट १७ थान आठ क्युफिट काठ बरामद गरेको डिभिजन बन प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।
लुकाएर राखिएको अवस्थामा बरामद भएको उक्त काठ सब डिभिजन बन कार्यालय तामागढीको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय स्रोतले जनाएको छ ।