चलान पाएपछि मात्रै उखु मिलमा ल्याउन रिलायन्स सुगरको आग्रह

संदिप प्रसाद यादव
322 पाठक संख्या

कलैया : बारामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले उखु आपूर्तिमा अव्यवस्था बढ्न थालेपछि किसानहरुलाई चलान प्राप्त भएपछि मात्रै उखु चिनी मिलमा ल्याउन आग्रह गरेको छ।

कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित चिनी मिलका जिएम गौरव सिलोडियाले पछिल्लो करिब २१ दिनदेखि मिल नियमित सञ्चालनमा रहेको जानकारी दिँदै हालसम्म करिब पाँच लाख क्विन्टल उखु क्रसिङ्ग भइसकेको बताए। उनका अनुसार मिलले दैनिक झण्डै ३० हजार क्विन्टल उखु क्रसिङ्ग गरिरहेको छ।

चलान नलिई ट्र्याक्टर तथा ट्रकमार्फत उखु मिल परिसरमा ल्याउँदा मिल तथा यातायात व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै जिएम सिलोडियाले किसानहरुलाई धैर्य अपनाई अनलाइन टोकन प्रणालीमार्फत मात्र चलान लिई उखु पठाउन आग्रह गरे। उनका अनुसार चिनी मिल आगामी करिब चार महिनासम्म सञ्चालनमा रहनेछ र कुनै पनि किसानको उखु खेतमै नछुट्ने व्यवस्था मिलाइएको छ।

उखु प्रबन्धक अवध झाले खुटी उखु आपूर्ति मिलको क्यालेन्डर अनुसार हुने भएकाले बिना चलान उखु ल्याउँदा व्यवस्थापनमा कठिनाइ हुने बताए। उनले पुस २३ गतेदेखि बिना चलान आएका गाडी यार्डभित्र प्रवेश नदिइने र सडकमा समेत राख्न नपाइने स्पष्ट पारे।

किसानहरुलाई टोकन गेटको दक्षिणतर्फ रहेको फराकिलो चौरमा गाडी पार्क गर्न आग्रह गरिएको छ। प्रबन्धक झाका अनुसार खुटी उखुको क्रसिङ्ग सम्पन्न भएपछि मात्रै मोरहन उखुको क्रसिङ्ग सुरु गरिनेछ। हाल मिलमा बाराबाट करिब ७० प्रतिशत र पर्साबाट ३० प्रतिशत उखु आपूर्ति भइरहेको छ। मिल व्यवस्थापनले किसानहरुलाई प्रणालीको पालना गर्दै समयमै चलान लिन विशेष ध्यान दिन अपिल गरेको छ।

Leave a review