कलैया : बाराको सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरले कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै सिम्रौनगढ नगरपालिका अवस्थित कार्यालयहरुमा सेवा अनिश्चितकालीन स्थगित गरिएको छ।
सिम्रौनगढ नगरपालिकाकी नगर उप प्रमुख शेहरले सोमबार कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृत विरवहादुर साह लहेरालाई दुर्व्यवहार गरेको जनाइएको छ। शेहरले लहेरालाई जोर–जबरदस्ती, गालीगलौज तथा दुव्र्यवहार गरी अभद्र व्यवहार गरिएको भन्दै घटनाप्रति नगरपालिकाका कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ति जारी गर्दै जनाइएको छ।

उक्त घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा तथा सुरक्षा माथि प्रत्यक्ष आघात पुर्याएको हुँदा यस प्रकारका अमर्यादित, गैरकानुनी र निन्दनीय कार्यको घोर भत्र्सना गर्दै हाम्रो कार्यालय प्रमुख तथा एक कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति गहिरो दुःख र आपत्ति सो विज्ञप्तिमा प्रकट गरिएको छ।
यस परिस्थितिमा कर्मचारीहरूको सुरक्षा, सम्मान तथा कार्य वातावरण सुनिश्चित नहुन्जेलसम्म सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू (शिक्षण संस्थाहरू बाहेक) मा अत्यावश्यक सेवा वाहेकका सबै सेवाहरू अर्को आदेश नहुन्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ।
सम्बन्धित निकायहरूवाट शीघ्र निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा सुरक्षित कार्य वातावरणको सुनिश्चितताहुने विश्वास विज्ञप्तिमा लिइएको छ। यसले नगरवासी तथा सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति सिम्रौनगढ नगरपालिका कर्मचारी परिवारले क्षमायाचना समेत गरेको छ।


