सिआईबी असईको नक्कली परिचय दिदै रौतहटमा महिलाको ठगी धन्दा पर्दाफास

संदिप प्रसाद यादव
267 पाठक संख्या

रौतहट : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) की असई हुँ भन्दै निर्वाद ठगी गर्दै हिँड्ने एक महिलाको नक्कली पहिचान अन्ततः रौतहट प्रहरीले सार्वजनिक गरेको छ।

सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर टोल बस्ने निर्मला महतोलाई रौतहट प्रहरी चन्द्रपुर नगरपालिका–६ बाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार उनले विभिन्न नाम र पहिचान प्रयोग गर्दै सर्वसाधारणलाई झुक्याउने गरेको खुलेको छ।

ती महिला महतोलाई विभिन्न नामहरुबाट कहिले नेहा, कहिले निशा त कहिले पुनम कुमारीको नाममा चिन्नेहरू पनि छन्। उनआपले आफुलाई सिआईबीको प्रहरी सहायक निरीक्षक बताउँदै प्रभाव जमाउने र त्यसकै आडमा आर्थिक लाभ लिने गर्थिन्।

उनको गतिविधिबाट पीडित बनेका चन्द्रपुर नगरपालिकाका सन्तोष बहादुर विश्वकर्मा र प्रविण साह, गढीमाई नगरपालिका–गुजरा क्षेत्रका विजय साह बनिया तथा सर्लाहीका राजेस्वर साहले प्रहरीमा उजुरी दिएपछि उनको त्यो कर्तुतको पर्दाफास भएको हो।

पक्राउ परेकी महतोमाथि प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमै उनले लामो समयदेखि विभिन्न स्थानमा यही शैलीमा ठगी गर्दै आएको संकेत प्ररम्भिक अनुसन्धानबाट खुलेको रौतहट प्रहरीले जनाएको छ ।

Leave a review