गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

साझेदारी डेलि
410 पाठक संख्या

रौतहट । ओमप्रकाश यादव / रौतहटको गौर नगरपालिका–६, सबगढामा गरिएको ६ बुँदे सहमति कार्यान्वयन नहुँदा अवस्था फेरि तनावग्रस्त बनेको छ। आज बिहानैदेखि दुई समुदायबीच पुनः झडप सुरु भई स्थिति उग्र बन्दै गएको छ।

झडपका क्रममा भीडले एक स्कार्पियो गाडीमा आगजनी गरेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। सहमति कागजमै सीमित हुँदा सबगढामा फेरि अशान्ति चुलिएको छ। शान्ति र सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार बन्नु आवश्यक देखिएको छ।

यसैबीच गौर नगरपालिका–६, सबगढामा हिन्दू र मुस्लिम समुदायबीच झडप उग्र बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन्।

गौर नगरपालिका–६, सबगढामा दुई पक्षबीच भएको साम्प्रदायिक विवाद र झडप उग्र बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु तोकिएको हो।

कर्फ्यु क्षेत्रभित्र पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया नदीको तटबन्ध (बाँध), उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटिएको छ। उक्त क्षेत्रमा आवतजावत, भेला, सभा–जुलूस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

झडपका कारण क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई संयमित रहन अनुरोध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका रामहरी अधिकारी स्वयं घटनास्थल पुगेर कमाण्ड सम्हालेका छन् । यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो।

सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। घटनाको पृष्ठभूमिमा बिहीबार राति विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्दा मस्जिद अगाडि अवरोध भएपछि विवाद सुरु भएको थियो। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट आएको जन्तीमाथि ढुंगा प्रहार हुँदा यसअघि पनि दर्जनौँ व्यक्ति घाइते भएका थिए।

गएरातिको झडपमा ६ जना घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचार गरिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर शनिबार बिहान पुनः करिब चार–पाँच सयको भीड जम्मा भई झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो।

Leave a review

This will close in 0 seconds