दीर्घकालीन विकासका एजेन्डासहित ईन्जिनियर साहले गरे वाचा पत्र सार्वजनिक

साझेदारी डेलि
438 पाठक संख्या

कलैया : बारा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साहले आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन्। साहले स्थानीय आवश्यकता र संघीय नीतिगत सुधारलाई केन्द्रमा राखेका छन्। उनले विकासका प्रमुख प्राथमिकता सार्वजनिक गरेका हुन्। कृषि, रोजगारी, पूर्वाधार, डिजिटल शासन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई मुख्य एजेन्डाका रूपमा उनले वाचापत्रमा समेटेका छन्।

किसानलाई समयमै मल र बिउ उपलब्ध गराउने, सिचाइ विस्तार गर्ने र उत्पादनको बजारीकरण सुनिश्चित गर्ने विषयलाई वाचापत्रमा समेटिएको छ। कृषि आधुनिकीकरणसँगै प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्ने योजना पनि वाचापत्रमा उल्लेख गरिएको छ। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सीपमूलक तालिम, स्टार्टअप प्रवद्र्धन र साना तथा मझौला उद्यमलाई नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता वाचापत्र मार्फत गरिएको छ।

वाचापत्रमा डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित अवसर विस्तार गर्ने लेखिएको छ। वैदेशिक रोजगारीमा निर्भरता घटाउने रणनीति वाचा–पत्रमा समावेश छ। पूर्वाधार विकासतर्फ गुणस्तरीय सडक, सुरक्षित खानेपानी, विद्युत् विस्तार तथा स्वास्थ्य र शैक्षिक संस्थाको स्तरोन्नति गर्ने विषय वाचापत्रमा लेखिएको छ।

संघीय बजेटमार्फत दीर्घकालीन आयोजना अघि बढाउने र कार्यान्वयनको प्रभावकारी निगरानी गर्ने कुरा वाचापत्रमा भनिएको छ। डिजिटल शासनमार्फत सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने योजना पनि वाचापत्रमा प्रस्तुत गरिएको छ। डेटा–आधारित योजना प्रणाली र अनलाइन सेवा विस्तारलाई सुशासनको आधारका रूपमा वाचापत्रमा अघि सारिएको छ।

महिला सशक्तीकरण, सामाजिक सुरक्षा, गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन र जलवायु अनुकूल पूर्वाधार विकासका विषयमा समेत बाचापत्र मार्फत वाचा गरिएको छ।

साहले राजनीति पदका लागि नभई जिम्मेवारीका लागि भएको उल्लेख गर्दै जनताको भरोसा कायम राख्दै स्थानीय आवश्यकता र राष्ट्रिय नीतिबीच सन्तुलन मिलाएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। उनले बारा क्षेत्र नम्बर ३ लाई दीर्घकालीन विकासको मार्गमा अघि बढाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

Leave a review