बारा : निर्वाचन खर्च प्रयोजनका लागि बारामा १५ जना उम्मेदवारले बैंक खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाराका चार वटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारमध्ये अहिलेसम्म १५ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा लेखा नियन्त्रणको कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरिले जानकारी दिएका छन् ।
उनका अनुसार बारा -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल,आम जनता पार्टीका बिजय यादव, क्षेत्र २ मा जनता समाजवादी पार्टी नेपालका राम किशोर प्रसाद यादव,नेपाली कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव,क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरबिन्द साह ,नेकपा एमालेका ज्वाला कुमारी साह र क्षेत्र ४ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता,समुन्नत परिवर्तन पार्टीका सर्वेन्द्र खनाल,नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा,राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारी, जनता समाजवादी पार्टी नेपालका संजु साह, प्रजातान्त्रिक पार्टी नेपालका मुनि खातुन,स्वतन्त्र उम्मेदवार संदीप यादव,बैधनाथ प्रसाद साह,मंगेश्वर पटेलले निर्वाचन खर्च प्रयोजनका लागि खाता खोलेका हुन् ।
बारा निर्वाचन क्षेत्र १ मा अधिकतम ३१ लाख र क्षेत्र २,३ र ४ मा अधिकतम २९ लाखसम्म खर्च पाउने निर्वाचन आयोगले मापदण्ड बनाएको छ । निर्वाचनमा हुने आर्थिक चलखेल रोक्नका र खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारको खर्च सम्बन्धी अनुगमन गरिने कोष नियन्त्रक गिरिले बताए । उनका अनुसार निर्वाचन आयोगले यसपालि बढी खर्च गर्नबाट रोक्नका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि मात्रै प्रयोग हुने खाता खोल्ने व्यवस्था गरेको छ ।

