बारा–३ मा समानुपातिकतर्फ रास्वपा पहिलो, कांग्रेस दोस्रो

संदिप प्रसाद यादव
327 पाठक संख्या

कलैया : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ मा समानुपातिक प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता हासिल गर्दै पहिलो स्थान कब्जा गरेको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार रास्वपाले अन्य दललाई निकै ठूलो मतान्तरले पछि पार्दै अग्रता कायम गरेको हो।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीका अनुसार समानुपातिकतर्फ रास्वपाले ४३ हजार ८५६ मत प्राप्त गरेको छ। उक्त मतसहित रास्वपा यस क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने दल बनेको हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ हजार २४२ मत प्राप्त गरेको छ। रास्वपा र कांग्रेसबीचको मतान्तर निकै ठूलो देखिएको छ।

यसैगरी जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ५ हजार ७४२ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ। नेकपा (एमाले) ले ५ हजार ७७ मत प्राप्त गरी चौथो स्थानमा सीमित भएको छ। त्यसपछि जनमत पार्टीले ३ हजार २३० मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको सूचना अधिकारी राजकुमार दहालले जानकारी दिए।

अन्य दलहरूको मतपरिणाम अनुसार राष्ट्रिय परिवर्तन पार्टीले २ हजार १८१ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीले १ हजार ३६९ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६५ मत प्राप्त गरेको छ भने राष्ट्र निर्माण दल नेपालले ९७० मत प्राप्त गरेको छ। त्यस्तै श्रम संस्कृति पार्टीले २९६ र जनादेश पार्टी नेपालले २३५ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार बारा–३ मा कुल १ लाख १७ हजार ५८४ मतदाता रहेका थिए। तीमध्ये ७७ हजार ३१४ मत खसेको थियो। खसेको मतमध्ये ७३ हजार ९२० मत सदर भएको छ भने ३ हजार ३९४ मत बदर भएको जनाइएको छ।

यस निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ ५८ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए। मतपरिणामले बारा–३ मा रास्वपाको जनसमर्थन उल्लेखनीय रूपमा बढेको संकेत गरेको निर्वाचन पर्यवेक्षकहरूले बताएका छन्।

Leave a review